काठमाडौं – रास्वपा सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा गएपछि पार्टीको आन्तरिक गतिविधि अन्योलग्रस्त बनेको छ। सहकारी ठगी आरोपमा थुनामा रहेका लामिछानेको अनुपस्थितिमा रास्वपाले महाधिवेशन तोकिएको मितिमा सम्पन्न गर्न नसक्ने निश्चित भएको छ।
तयारीको अभाव र समयको चापले गर्दा महाधिवेशन स्थगित हुने सम्भावना बढेको छ। शनिबार चितवनबाट सुरु गरिएको जनयात्रा पनि कमजोर सहभागीता र फितलो माहोलका कारण प्रभावित भएको छ। अब पार्टीको प्राथमिकता लामिछानेको थुनालाई गैरकानुनी ठहर गर्दै कानुनी प्रक्रिया र प्रदर्शनतर्फ केन्द्रित हुने देखिएको छ।
लामिछाने कारागार चलान भएपछि बुधबार पहिलोपटक बसेको रास्वपा सचिवालय बैठकले महाधिवेशन र जनयात्राबारे ठोस निर्णय गर्न सकेन। बैठकले फेरि पनि निरन्तर छलफल गर्ने र केन्द्रीय समितिको बैठक बोलाउने योजना बनाएको छ। तर, बैठकको मुख्य एजेन्डा अदालतको आदेशविरुद्धको प्रतिक्रिया रहने देखिन्छ।
रास्वपाको आन्तरिक नेतृत्व तथा कार्ययोजनामा लामिछानेको अनुपस्थितिले गहिरो प्रभाव पारेको छ। पार्टीको भावी रणनीति र गतिविधिहरू अनिश्चिततामा रहेको विश्लेषण भइरहेको छ।




















