विराटचोक—नझरेका फूलहरूको ११औँ वार्षिकोत्सव, नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा पलेँटी शृङ्खलाको ४४औँ प्रस्तुतिमा लोकप्रिय युवा कवि सिजन श्रेष्ठ गुञ्जिने भएका छन्। 

'कलाकार राष्ट्रका गरिमा,निधि र पहिचान हुन्।' भन्ने मूल उद्देश्य बोकेर साहित्य,कला,सङ्गीत र संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने महाअभियान बोकेर केपी घिमिरेले मोरङको सुन्दरहरैँचाबाट नझरेका फूलहरू पलेँटी साँझ सञ्चालन गर्न थालेको दसवर्ष पुरा भएको छ। केपी घिमिरेको एकल प्रयासमा यो शृङ्खला आफ्नो ४३औँ प्रस्तुति सफलतापूर्वक पूरा गर्दै दसवर्षे लामो यात्रा पार गरेर बैशाख २ गते एघारौँ वर्षमा प्रवेश गर्दैछ। सोही अवसरमा ४४औँ शृङ्खला आयोजना हुने र यसपटक कवि सिजन श्रेष्ठलाई प्रस्तुत गरिने घिमिरेले जानकारी दिएका हुन्। 

WhatsApp Image 2025-04-13 at 10.02.29_ff959135नझरेका फूलहरूले अहिलेसम्म करिब २०० भन्दा बढी ख्यातिप्राप्त साहित्यकार, कलाकार एवम् संस्कृतिकर्मीलाई सम्मान गरिसकेको छ।राष्ट्रका सुपरिचित गायकगायिका, सङ्गीतकार, संस्कृतिकर्मी, गीतकार तथा साहित्यकार, चित्रकार, अभिनेता-अभिनेत्री, भाषाविद् , खेलाडी लगायतलाई जीवित छँदाछँदै सम्मान गर्ने मूल अभियानमा होमिएका घिमिरे आफैँ पनि गीतकार,सङ्गीतकार, कार्यक्रम व्यवस्थापक, कुशल उद्घोषक तथा उद्घोषण तालिमका दक्ष प्रशिक्षकसमेत हुन्। 

मोरङको मिक्लाजुङ (टाँडी,धोबेनी)मा जन्मिएका घिमिरेले विगत लामो समयदेखि सुन्दरहरैँचालाई कार्यक्षेत्र बनाएर विभिन्न साहित्यिक,साङ्गीतिक,सामाजिक र राजनीतिक गतिविधि गर्दै आइरहेका छन्। 

यस पटक नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र नझरेका फूलहरूको ११औँ वार्षिकोत्सवका अवसरमा अहिलेका लोकप्रिय युवा कवि सिजन श्रेष्ठलाई दर्जनभन्दा बढी कविता तथा गजलका साथ  प्रस्तुत गर्न लागिएको र तयारी अन्तिम चरणमा पुगेको घिमिरेले जानकारी गराएका छन्। 

कवि श्रेष्ठलाई स्रोतादर्शकले पलेँटीमा नि:शुल्क साहित्यिक रसास्वादन गर्ने अवसरको तारतम्य मिलाइएको नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरेले बताएका छन्। 

पलेँटी शृङ्खला मोरङको सुन्दरहरैँचा-१० खोर्साने स्थित सिद्धार्थ सेकेन्डरी स्कुलको पुस्तकालय हलमा बैशाख २ गते मङ्गलवार साँझ ६:३० बजे आयोजना हुनेछ।