काठमाडौं—विभिन्न माग गर्दै काठमाडौं आएर डान्स गरिरहेका शिक्षक होमराज पौडेल निजी स्कुलका सञ्चालक रहेको खुलेको छ। सरकारी सेवा सुविधा माग गर्दै आन्दोलनमा रहेका पौडेलले गरेको ‘डान्स’ सामाजिक सञ्जालमा भाइरल बनेपछि यतिबेला उनी ‘सेलिबे्रटि टिचर’ बनेका छन्।

उनलाई यतिबेला काठमाडौंबाट सञ्चालित सञ्चारमाध्यमहरुमा अन्तरवार्ता दिन भ्याइनभ्याई छ। हिमालयन टेलिभिजनलगायत विभिन्न सञ्चारमाध्यममा अन्तवार्ता दिइसकेका पौडेलले सोमबार दिउँसो टिकाराम यात्रीसँगको समय तय गरेका स्रोत बताउँछ। यद्यपि टिकाराम यात्रीले पौडेललाई ‘कहाँ पढाउनुहुन्छ?’ भनेर सोध्न नपाउने शर्त राखिएको स्रोतको दाबी छ।

किनभने सरकारी सेवासुविधा माग गर्दै करिब तीन हप्तादेखि आन्दोलनमा रहेका शिक्षक पौडेल ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–३ मा रहेको फ्लोरेन्स नाइटिङ्गल स्कुलका सञ्चालक हुन्। त्यही कारण उनले अधिकांश अन्तवार्तामा आफूलाई कहाँ पढाउनुहुन्छ भनेर सोध्न नपाउने शर्त राख्छन्।

यस विषयमा उनको प्रतिक्रिया लिन खोज्दा एकछिन पछि सम्पर्क गर्ने बताए। दिउँसो ३ बजे टिकाराम यात्रीसँग समय तय गरिएको बताउँदै उनले पुतलिसडकतिर आएको बेला प्रतिक्रिया दिने बताए। ‘म अहिले बाटोमा छु है,’ उनले भने, ‘सम्पर्कमा बस्दै गरौं न।’-इकर्मचारी