बुटवल—भारतको जम्मु-कश्मीरमा आतंकवादी हमलामा मारिएका बुटवलका २७ वर्षीय सुदीप न्यौपानेको शव नेपाल ल्याइएको छ। मंगलबार दिउँसो बन्दुकधारी आतंकवादीले गोली हानी हत्या गरेका सुदीपको शव भारतको नयाँ दिल्लीबाट लखनउ हुँदै सडक मार्गबाट बेलहिया नाकामा ल्याइएको हो।
बिहीबार बिहान बेलहियामा शव पुगेसँगै उनलाई बुटवलस्थित घरमा पुर्याइएको छ।
सुदीप आमा रिमाकला, बहिनी सुष्मा, र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरको वैसरण उपत्यका (मिनी स्विजरल्यान्ड) घुम्न गएका थिए। घुमफिरकै क्रममा मंगलबार आतंकवादी आक्रमणमा परेर सुदीपले ज्यान गुमाए। उनकी आमा, बहिनी, र ज्वाइँले भागेर ज्यान जोगाएका थिए। भाग्ने क्रममा रिमाकला सामान्य घाइते भएकी थिइन्।
उक्त हमलामा २६ जना मारिएका थिए, जसमा दुई विदेशी नागरिकसमेत थिए।
सुदीपका काका दधिराम न्यौपानेका अनुसार सुदीपको शव बुटवल–११, मनकामना पथस्थित घरमा ल्याइएको छ। आमाबाबुको सम्बन्धविच्छेदपछि सुदीप आमा र बहिनीसँग कालीकानगरमा बस्दै आएका थिए।
सुदीपका पिता ध्रुव न्यौपाने शिक्षण पेशामा आवद्ध छन्। शिक्षक आन्दोलनका क्रममा काठमाडौंमा रहेका बेला उनले छोराको मृत्युको खबर पाएका थिए।
यो घटनाले सबैलाई स्तब्ध बनाएको छ।



















