विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशलाई लगानीमैत्री गन्तव्य बनाउने सपना अब वास्तविकतामा परिणत हुने विश्वास व्यक्त गरेका छन्।

यही वैशाख १८ गते विराटनगरमा आयोजना हुन लागेको ऐतिहासिक लगानी सम्मेलनबारे जानकारी दिँदै उनले प्रदेशलाई आर्थिक समृद्धिको मूल आधार बनाउने तयारी पूरा भएको बताए। सम्मेलनमा ऊर्जा, पूर्वाधार, कृषि, पर्यटन, उद्योग तथा सूचना प्रविधिलाई प्राथमिक लगानी क्षेत्रका रूपमा प्रस्तुत गरिने उनले जानकारी दिए।

“हामीले लगानीकर्ताका लागि सहुलियत, सुरक्षा र सहजीकरण सुनिश्चित गरेका छौँ,” उनले भने, “सम्मेलनपछि कोशी प्रदेशमा प्रत्यक्ष वैदेशिक र आन्तरिक लगानी तीव्र हुनेछ।”

मुख्यमन्त्री कार्कीले सम्मेलनलाई प्रदेश विकासको ‘टर्निङ प्वाइन्ट’ का रूपमा चित्रण गर्दै दीर्घकालीन आर्थिक नीतिको सुरुवात भएको उल्लेख गरे। “नीति, संरचना, र मनोवृत्तिमा आमूल परिवर्तन ल्याउने हाम्रो अठोट छ,” उनले भने।

सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, निजी क्षेत्रका व्यवसायी, बैंक तथा वित्तीय संस्था, विदेशी नियोग, विकास साझेदार र सम्भावित विदेशी लगानीकर्ताको सहभागिता रहने छ। प्रदेश सरकारले सम्मेलन सफल बनाउन व्यापक प्रचारप्रसार, नीति सुधार र समन्वयात्मक पहल अघि सारेको छ।