काठमाडौं— सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न आयोजित संघीय संसदको संयुक्त बैठकमा राष्ट्रिय सभाका मनोनित सांसद वामदेव गौतम नेकपा एकीकृत समाजवादीका सांसदहरूको लहरमा देखिएका छन्। बैठकमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम वाचन भइरहेका बेला गौतम एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगैको कुर्सीमा बसेका थिए।

नेकपा एमाले विभाजनपछि गौतम कुनै पनि पार्टीमा औपचारिक रूपमा आबद्ध भएका छैनन्। उनले एमालेमा पुन: समाहित हुन प्रयास गरे पनि सहमति नभएपछि नेकपा एकीकृत समाजवादीसँग संवाद कायम राखेका छन्।

राष्ट्रिय सभाका अन्य मनोनित सांसदहरूमा अन्जान शाक्य एमालेको लहरमा बसेकी छन् भने नारायण दाहाल राष्ट्रिय सभा अध्यक्षको भूमिकामा छन्।