काठमाडौं—नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई निजी क्षेत्रको सुझावलाई सम्बोधन गरेको भन्दै सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्। संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमपछि  उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

अध्यक्ष ढकालले नीति तथा कार्यक्रममा निजी क्षेत्रका सुझावलाई प्राथमिकताका साथ समावेश गर्नु सकारात्मक रहेको बताए। उनका अनुसार डिजिटल कारोबार, सरकारी सेवा सुविधालाई डिजिटलाइज गर्ने, शिक्षालाई रोजगारी, सीप र उद्यमसँग जोड्नेजस्ता विषय निजी क्षेत्रका प्रमुख सुझाव हुन्।

उनले सरकारका तर्फबाट यस्ता सुझावलाई सम्बोधन गर्न प्रतिबद्धता देखिनु सकारात्मक रहेको भन्दै कार्यान्वयनको आवश्यकता औँल्याए।

ढकालले उद्योग व्यवसायमा सहजीकरणका लागि नीतिगत सुधार गर्ने सरकारको प्रतिवद्धतालाई उल्लेखनीय मानेका छन्। उनले वर्तमान आर्थिक अवस्थालाई गतिशील बनाउन नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न जोड दिएका छन्।

उनले भने, "सरकारले निजी क्षेत्रका सुझावलाई समेटेर नीति तथा कार्यक्रम ल्याएको छ। यो सकारात्मक विषय हो। तर, नीति तथा कार्यक्रमलाई बजेटले कसरी सम्बोधन गर्छ भन्ने कुरा बजेट आएपछि मात्रै थाहा हुनेछ।"

अध्यक्ष ढकालले नीति तथा कार्यक्रम सकारात्मक भए पनि बजेटलाई त्यस अनुरूप बनाउनु आवश्यक रहेको बताए।