काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले हाल सामाजिक सञ्जालमा महानगरको नेतृत्वलाई लिएर फैलाइएको विवादको विषयमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेकी छिन्।
सोल्टीमोडस्थित हायात सेन्ट्रिङ होटलमा आयोजित जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा, खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको जिज्ञासामा जवाफ दिँदै डंगोलले भनिन्, "सामाजिक सञ्जालमा मात्रै झगडा र विवाद देखिन्छ, तर महानगरभित्र कुनै समस्या छैन।"
उनका अनुसार सामाजिक सञ्जालमा भिडियो र फोटोहरूलाई जबरजस्ती सम्पादन गरेर विवाद सिर्जना गर्ने प्रयास भइरहेको छ । ‘एडिट गरिएका भिडिओ र तस्वीरहरू हेरेर कोही झुक्किए पनि म त्यस्ता बनावटी झगडामा केन्द्रित छैन,’ उनले थपिन् ।
डंगोलले संस्थागत रूपमा आफ्नो प्रतिबद्धता प्रष्ट पार्दै भनिन्, ‘म संस्थाको लागि प्रतिबद्ध छु, जनताको लागि समर्पित छु । महानगरको हितविरुद्ध केही हुन नदिन म सधैं प्रयत्नशील छु । प्रजातन्त्रमा बहस, विवाद र संवाद आवश्यक छन्, तर ती सकारात्मक रूपमा हुनुपर्छन् ।’
कार्यक्रममा उनले महानगरपालिकाको खर्च कम हुनुको कारण पनि प्रष्ट पारेकी छन् । १०४ दिनसम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा खर्च रोकिएको उल्लेख गर्दै उनले भनिन्, ‘अब प्रमुख प्रशासकीय अधिकृत कार्यमा फर्किसकेका छन्, त्यो समस्याको समाधान भइसकेको छ । मिडियाले त्यसको विश्लेषण कसरी गर्छ भन्ने कुरा म होइन, मिडियाकै जिम्मेवारी हो ।’




















