काठमाडौं— नेकपा एमालेका सांसद सूर्य थापा र राष्ट्रियसभा सदस्य वामदेव गौतमबीच शनिबार बिहान भैंसेपाटीस्थित गौतम निवासमा भेटवार्ता भएको छ।
सांसद थापाले सामाजिक सञ्जालमार्फत भेटको तस्बिर सार्वजनिक गर्दै छलफललाई ‘महत्वपूर्ण’ बताएका छन्। उनले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको हैसियतमा दुबैले आ-आफ्नो निर्वाचन क्षेत्र र जन्मथलोका लागि मिलेर केही गर्न लागिपर्ने समझदारी सुरु भएको उल्लेख गरेका छन्।
थापाले लेखेका छन्, "वरिष्ठ राजनीतिज्ञ राष्ट्रियसभा सदस्य कमरेड वामदेव गौतमसँग भैंसेपाटीस्थित निवासमा महत्वपूर्ण भेटघाट भएको छ। मूलतः प्युठानमा उहाँको समयमा थालनी भएका केही कामप्रतिको लगाव अझै जिउँदो छ। हामीले दुबैले आफ्ना क्षेत्रका लागि मिलेर काम गर्ने समझदारी गरेका छौं।"
टको तस्बिर सार्वजनिक भएपछि राजनीतिक वृत्तमा नयाँ अड्कलबाजीहरू शुरू भएका छन्। विशेषतः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग संसद बैठकमा गौतम सँगै देखिएपछि, एमाले अध्यक्ष केपी शर्मा ओलीका सन्देशवाहकका रूपमा सूर्य थापा वामदेवलाई भेट्न गएको चर्चा चलेको छ।
शुक्रबार संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा वामदेव गौतम एकीकृत समाजवादीका सांसदहरूसँगै बसेका थिए। यसले थप राजनीतिक संकेतहरू दिएको विश्लेषण भइरहेको छ।




















