खोटाङ—खोटाङको खोटेहाङ गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रित्तिएको छ। रास्वपाको गाउँ कार्यसमितिका सभापति प्रदीप आचार्यसहित सम्पूर्ण समिति नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेपछि खोटेहाङमा रास्वपाको संगठन संरचना खाली भएको हो।

माओवादी केन्द्रद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा नेकपा (एमाले) का खोटेहाङ गाउँ सचिवालय सदस्य तथा वडा सदस्य किरण राई र प्रकाश कटुवाल पनि माओवादीमा प्रवेश गरेका छन्। 

शुक्रबार आयोजित उक्त कार्यक्रममा रास्वपाका पूर्वसभापति आचार्यले रास्वपाको नेतृत्व र कार्यशैली जनपक्षीय नभएको आरोप लगाउँदै माओवादीको स्पष्ट नीति, सिद्धान्त र जनयुद्धको इतिहासले आफूहरूलाई आकर्षित गरेको बताए। उनले रास्वपामा नीति, सिद्धान्त, र कार्यक्रमको अभाव रहेको, सस्तो लोकप्रियतामा आधारित भएको, र एक व्यक्ति केन्द्रित पार्टी भएको आरोप लगाए। रास्वपाको भविष्यप्रति आशंका व्यक्त गर्दै माओवादीमा जनताको मुक्तिको आधार रहेको धारणा राखे।

नवप्रवेशीहरूलाई माओवादीका केन्द्रीय सदस्य समिता कार्की, जिल्ला समन्वय समिति संयोजक दीपक पाण्डे, र खोटेहाङ पार्टी इन्चार्ज उदिम राईले खादा, माला र अविर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा दिप्रुङ चुइचुम्मा गाउँ पार्टी अध्यक्ष तथा वाईसिएल केन्द्रीय सदस्य किशान राई र खोटेहाङ पार्टी कमिटी अध्यक्ष दिपेन थुलुङको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै  केन्द्रीय सदस्य कार्कीले नवप्रवेशीहरूलाई पार्टीले जिम्मेवारी दिने बताइन्। उनले माओवादीको नीति, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, र समावेशी व्यवस्थाले जनतासँग बलियो सम्बन्ध बनाएको र ०८४ को निर्वाचनमा तीनै तहमा बहुमत ल्याउने लक्ष्य रहेको बताइन्।