काठमाडौं—नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले राजावादी समूहलाई "चोर" को संज्ञा दिएका छन्। शनिबार पार्टीनिकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले राजावादीहरूले आफ्नो पार्टीको कम्प्युटर र प्रिन्टर चोरेको आरोप लगाए।

गत चैत १५ गते तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शनको प्रसंग उल्लेख गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चाको आन्दोलनले राजावादीहरूको मनोबल गिराएको बताए। उनले भने, “हामीले उनीहरूको चोरी पुष्टि गरिसकेका छौं। उनीहरूको मनोबल गिरेको छ, तर खतरा बाँकी नै छ। गणतन्त्रका पक्षधरहरू फेरि एकजुट हुन आवश्यक छ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले वर्तमान व्यवस्थालाई सिध्याउने होइन, समुन्नत बनाउनुपर्ने धारणा राखे। “व्यवस्था परिवर्तन गर्ने होइन, यसलाई सुधार गरेर अघि बढाउने हो। मान्छे खराब भयो भने खराबी हटाउनुपर्ने हो, मान्छे नै सिध्याउने होइन,” उनले भने। अध्यक्ष नेपालले गणतन्त्र जोगाउन एकीकृत समाजवादीको भूमिकालाई महत्वपूर्ण ठहर गरे।

अध्यक्ष नेपालले गणतन्त्रको सुरक्षाका लागि सबै गणतन्त्रवादी शक्तिहरूबीच सहकार्यको आवश्यकता औंल्याए। उनले वर्तमान चुनौतीहरूको सामना गर्न सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने बताउँदै गणतन्त्रलाई थप सुदृढ बनाउने अठोट व्यक्त गरे।