धादिङ—धादिङको गजुरी गाउँपालिका–२, डुँडेठाँटीका ६० वर्षीय चुडामणि कँडेलको हत्या प्रकरणमा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ। घटनाको करिब एक महिनापछि जिल्ला प्रहरी कार्यालय धादिङले मकवानपुरका पृथलाल थिङ,अक्कलबहादुर प्रजा  र सञ्चलाल मुक्तानलाई सार्वजनिक गरेको हो।

गत चैत २४ गते कँडेल आफ्नै घरको भुइँतलामा रहेको बाथरुममा घाँटीमा डोरी कसिएको अवस्थामा मृत फेला परेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानले कँडेलले आफ्नै श्रीमती सुस्मिता सिलुराललाई मार्न अक्कलबहादुर प्रजालाई ४ लाख रुपैयाँ ‘सुपारी’ दिएको खुलेको छ।

तर योजना असफल भएपछि कँडेलले पृथलाल थिङलाई लगातार दबाब दिन थालेका थिए। काम समयमा नभएको कारण कँडेलले थिङसँग रिसाएका थिए। उनले थिङलाई छिटो काम गर्न र रकम फिर्ता गर्न चेतावनी दिएका थिए।

यसै रिस र दबाबका कारण थिङ, प्रजा र मुक्तानले कँडेलकै हत्या गरेका हुन्। अनुसन्धानका क्रममा प्रहरीले उनीहरूबाट हत्या गर्न प्रयोग गरिएको डोरी, कोदालो, मृतकको मोबाइलको टुक्रा र सुपारीका लागि दिइएको रकमसमेत बरामद गरेको छ।

अक्कलबहादुर प्रजालाई वैशाख ३ गते डुँडेठाँटीबाट र पृथलाल थिङ तथा सञ्चलाल मुक्तानलाई वैशाख १६ गते मनहरी गाउँपालिका–७ बाट पक्राउ गरिएको हो।

तीनैजनामाथि ज्यानसम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।