काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी र पहिलो महिला राधिका शाक्यले प्रधानमन्त्री ओलीलाई गिज्याउने र गाली गर्नेहरूको भविष्य अन्धकार हुने टिप्पणी गरेकी छिन्। शनिबार काभ्रेको धुलिखेलमा आफ्नो आत्मकथा ‘करुणा’ सम्बन्धी विमर्श कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेकी हुन्।

शाक्यले प्रधानमन्त्री ओलीलाई गिज्याएर खुशी हुनेहरूले आफ्नै खुट्टामा बञ्चरो हानिरहेको र आफ्नो भविष्य अन्धकार बनाइरहेको बताइन्। उनले प्रधानमन्त्री ओलीमाथि आलोचना हुने गरे पनि उहाँमा अथाह ज्ञान रहेको उल्लेख गरिन्।

‘मैले दुईवटा विषयमा मास्टर्स गरेको छु, अस्तिको शिक्षक आन्दोलनमा पनि ‘८ क्लास फेल भएको मान्छेले देश चलाउने, हामी यत्रो पढेका शिक्षक सहरमा आन्दोलन गर्नुपर्ने ?’ भन्ने सुनेँ,’ शाक्यले भनिन्, ‘म विनम्रसाथ सबैलाई के अनुरोध गर्न चाहन्छु भने दुई विषयमा मास्टर्स गरेको प्रमाणित कपी मसित छ। तर, मेरो श्रीमान् केपी ओलीमा रहेको विविध विषयको ज्ञानको अगाडि म केही पनि होइन।’

जेलमा रहेका बेला केपी ओलीले सर्टिफिकेटमा खासै ध्यान नदिएको भन्दै उनले त्यहाँ बसेर सर्टिफिकेट लिनेहरुको पनि गुरु केपी ओली भएको बताइन । ‘उहाँको सर्टिफिकेट किन भएन तपाईंहरु सबैलाई थाहा छ,’ शाक्यले भनिन, ‘जेलमा भएका थुप्रैले प्रमाणपत्र लिनुभएको छ। तर, प्रमाणपत्र लिने साथीहरूको गुरु पनि जेलमा केपी ओली नै हो। उहाँले हरेक विषयमा जेलमा बसेका साथीभाइहरूलाई जानेको कुरा सिकाइदिनुहुन्थ्यो।’

उनले भनिन, ‘जोजो मान्छेहरूले आज केपी ओलीलाई गिज्याउन पाएँ, केपी ओलीलाई गाली गर्न पाएँ भनेर खुशी भइराख्नु भएको छ, आखिरमा उहाँहरूकै भविष्य अन्धकार हुन्छ र उहाँहरूले आफ्नो खुट्टामा बन्चरो आफैँले हान्दै हुनुहुन्छ भन्ने मेरो विश्लेषण छ। आजको जमानामा सामाजिक सञ्जालले हामीलाई नकारात्मकतातिर डोहोर्‍याइरहेको अवस्था छ। त्यो डोहोर्‍याइको करिब-करिब धेरै भाग त केपी सरलाई गाली गर्नमा नै छ जस्तो लाग्छ। तर, त्यो गाली गरेर हामीलाई त केही पनि हुने वाला छैन। हामी कति नै बाँच्छौं र अब हामी भनेको उत्तरार्द्धतिर पुगिसकेका मान्छे हौं । हामीले हिजो पञ्चायतको दमन त सहँदै आएका मान्छे हौं भने अहिले यस्तो खुल्ला वातावरणमा बस्न पाएका छौं। हामीले सहन सक्दैनौं र  सक्छौं । तर, जो-जो मान्छेले आज केपी ओलीलाई गिज्याउन र केपी ओलीलाई गाली गर्न पाएँ भनेर खुशी भइराख्नु भएको छ, आखिरमा उहाँहरूकै भविष्य अन्धकार हुन्छ। उहाँहरूले आफ्नै खुट्टामा बन्चरो आफैँले हान्दै हुनुहुन्छ र आफ्नो सन्तान दरसन्तानको भविष्य अन्धकार बनाउँदै हुनुहुन्छ भन्ने मेरो निष्कर्ष छ। हामीलाई त केही हुनेवाला छैन।’