मोरङ—कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले नेकपा एकीकृत समाजवादीलाई पार्टी एकताको प्रस्ताव गरेका छन्।
आगामी वर्षको बजेटलाई लक्षित गर्दै कोशी प्रदेशको एकीकृत समाजवादी प्रदेश कमिटीले १७ वटा मुख्य विषय समेटेर १३८ बुँदे मागपत्र मुख्यमन्त्री कार्यालयमा बुझाएको थियो। मागपत्र बुझाउन पुगेका एकीकृत समाजवादीका उपमहासचिव एवं पूर्व मुख्यमन्त्री राजेन्द्र राईसहितका नेताहरूसँग अनौपचारिक छलफलका क्रममा मुख्यमन्त्री कार्कीले पार्टी एकताको प्रस्ताव गरेका हुन्।
उनले यो प्रस्ताव गरिरहँदा पत्रकारहरूले भिडियो खिचिरहेका थिए । तर उनले पत्रकारलाई उक्त संवाद नखिच्न आग्रह गरेका थिए । त्यसपछि मुख्यमन्त्री कार्कीले थपे ‘दुईवटा गौरवशाली पार्टी भनेर मात्रै पुग्दैन,’ मुख्यमन्त्री कार्कीले भने, ‘अब एउटै गौरवशाली पार्टी बनाउनु पर्छ। दुईवटाले गौरवशाली पार्टी किन भन्नु? मिलेर एउटै गौरवशाली पार्टी बनाऔं।’ उनको प्रस्तावमा समाजवादी नेताहरूले कुनै प्रतिक्रिया जनाएका छैनन्।
मागपत्र बुझाउन पुगेका समाजवादीका नेताहरूमा उपमहासचिव राई, पोलिटब्यूरो सदस्यहरू महेश रेग्मी, राजन राई, प्रदेश अध्यक्ष सरिता खड्का लगायत रहेका थिए। उनीहरूले कृषि, पर्यटन, उद्योग, वाणिज्य, स्वास्थ्य, शिक्षा, उर्जा, खानेपानी, रोजगारी लगायतका १७ वटा विषयमा माग राख्दै १३८ बुँदे विवरण पेश गरेका थिए।




















