धनगढी—जिल्ला समन्वय समिति अछामकी उपप्रमुख दानमती शाहीसहित तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूमाथि अपमानजनक व्यवहार गरेको आरोपमा मुद्दा दायर भएको हो। शाही नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन्।


२०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपले उग्ररुप लिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।
पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि झडप भएको थियो । सोही क्रममा पञ्चदेवल विनायक —४ का १३ वर्षीय विनोद शाही बेपत्ता भएका थिए ।०७९ जेठ २१ मा घर नजिकैको जंगलमा शाही मृत भेटिएका थिए ।

कांग्रेस कार्यकर्ताले शाहीको हत्या गरेको एमाले कार्यकर्ताको आरोप छ । उक्त घटना कांग्रेस र एमाले जोडिएर राजनीतिकरण भएपछि अहिलेसम्म पनि त्यसको असर परिरहेको छ । विनोद शाही मृत्यु प्रकरणको मुद्दा अदालतमा विचाराधिन अवस्थामा भएतापनि घटनाले राजनीतिक रुप लिएपछि पटक-पटक विवाद हुँदै आएको छ ।
सोही क्रममा पञ्चदेवल विनायक—४ बाट निर्वाचित जिल्ला समन्वय समिति उपप्रमुख शाही पनि मुछिएकी थिइन् । उनी पुर्पक्षका लागि थुनामा बसेर धरौटीमा रिहा भएकी थिइन् । सोही मुद्दाको बयान दिन शाहीसहित द्रोपति शाही र शान्ति शाही पनि अदालतमा उपस्थित थिइन् । दुवै पक्ष फागुन १८ मा मुद्दाको विषयलाई लिएर अदालत गएका थिए ।
दुवै पक्षले एकअर्कालाई देखेपछि अदालत परिसरमा हानाहान गरे । जसमा उपप्रमुख शाही पक्षकी द्रोपति शाहीको अर्को पक्षको कुटपिटबाट ४ वटा टाँका लागेका थिए । अर्का साक्षी दिनेश नेपालीमाथि गालीगलौज गरेपछि उनीहरुले अर्को पक्षका विरुद्धमा जातीय छुवाछूत गरेको मुद्दा समेत दर्ता गरेका थिए ।
सोही क्रममा बखत शाही, गणेश शाही, रमेश शाही, देवेन्द्र शाही र ललितबहादुर शाहीको नाममा अमानवीय तथा अपमानजनक व्यवहारमा मुदा दायर भएको थियो । सोही मुद्दाको जाहेरी आधारमा रमेश शाही, देवेन्द्र शाही र ललितबहादुर शाही हिरासतमा बसेर जनही १ लाख २५ हजार धरौटीमा छुटेका थिए । बखत शाही र गणेश शाहीका नाममा पक्राउ पुर्जी जारी भएपछि उनीहरु फरार भएका थिए ।
अन्तिममा अदालतमा हाजिर भएका बखत शाही २ लाख २५ हजार र गणेश शाही १ लाख २५ हजार धरौटीमा छुटेका थिए । धरौटीबाट छुटेका उनीहरुले नै उपप्रमुख शाहीविरुद्धमा सोही दिनको घटनालाई लिएर अमानवीय तथा अपमानजनक व्यवहारमा मुद्दा सरकारी वकिल कार्यालयमार्फत दर्ता गरेका थिए । एकै दिनको एकै प्रकृतिको मुद्दा प्रहरीले दर्ता गर्न नमानेपछि उनीहरुले सरकारी वकिल कार्यालयबाट मुद्दा प्रक्रिया अगाडि बढाएका थिए । अदालतबाट पक्राउ पुर्जी लिएर वैशाख १७ गते उपप्रमुख शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।