जनकपुरधाम — नेकपा एमालेको धनुषाको ८औं जिल्ला अधिवेशन स्थलमा दुई पक्षबिच झडप हुँदा दुई नेतासहित पाँच जना घाइते भएका छन् ।  घाइते हुनेहरूमा भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास रहेका छन्। दुवै जनाको टाउको फुटेको छ।

त्यसैगरी, निवर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादव पनि कुटिएका छन्। झडपको मुख्य कारण उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनको विषयमा भएको विवाद हो। भोला यादव र लक्ष्मीनारायण यादव पक्षबीच कुर्सी हानाहान भएपछि अवस्था हिंसात्मक बनेको थियो।

भोला यादव एमाले केन्द्रीय सचिव रघुवीर महासेठ पक्षबाट अध्यक्षका प्रत्यासी हुन् भने लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकर अरगरिया पक्षबाट अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्दैछन्। दुवै पक्षबीच अधिवेशन सुरु भएदेखि नै तनाव रहेको थियो।

सोमबार राति मनोनयन दर्ता भएपछि उम्मेदवारहरूको अन्तिम नामावलीमा नाम थपघट हुँदा विवाद भएको हो। निर्वाचन समितिले मतदान आज बिहान साढे ८ बजे सुरु गर्ने समय तोके पनि विवादका कारण मतदान प्रक्रिया रोकिएको छ। भोला यादव पक्षले मतदान सुरु गर्न माग गरिरहेका छन् भने लक्ष्मीनारायण यादव पक्षले विरोध जारी राखेका छन्।

अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने लक्ष्य रहेको छ। उपाध्यक्ष, सचिव, उपसचिव र अन्य पदका लागि समेत विभिन्न उम्मेदवारहरू प्रतिस्पर्धामा छन्।