बिर्तामोड—राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा विवाद भएपछि प्रतिनिधि छनौट प्रक्रिया स्थगित भएको छ । विवादका कारण जिल्ला, प्रदेश र केन्द्रीय प्रतिनिधि छनौट स्थगित भएको निवर्तमान नगर सभापति कमल गौतमले जानकारी दिए ।

नैतिक चरित्र र आर्थिक अनियमिततासम्बन्धी उजुरीपछि निलम्बनमा परेका झापाका संस्थापक अध्यक्ष उमेश खरेलको नाम प्रतिनिधिमा आएपछि विवाद भएको थियो । विवाद चर्किएपछि प्रक्रिया नै स्थगित गरिएको गौतमले बताए । ‘जान्नेलाई छान्ने’ नारा बोकेको रास्वपाले मेचीनगरमा नेतृत्व सर्वसम्मत गरेपनि प्रतिनिधि छनौटमा लफडा भएको हो । गौतमले अन्य पालिकाका नेता कार्यकर्ताको मेचीनगरमा हस्तक्षेप र उश्रृङ्खलता देखाएको आरोप लगाए । बिर्तामोडबाट पुगेका रास्वपाका नेता कार्यकर्ताहरुको लफडाका कारण विवाद उत्पन्न भएको उनको भनाई छ ।

अधिवेशनबाट जिल्लामा ४, प्रदेश र केन्द्रमा २÷२ जना प्रतिनिधि छान्नुपर्ने थियो । प्रतिनिधिमा उमेश खरेलको नाम आएपछि विवाद भएको हो । जिल्ला समितिले नैतिक चरित्र र आर्थिक अनियमितता सम्बन्धी उजुरी परेपछि कारबाहीका लागि माथिल्लो निकायमा सिफारिस गरेको थियो । खरेललाई साधारण सदस्य समेत नरहने गरी कारबाहीको लागि सिफारिस गरिएको थियो । कारबाहीको लागि सिफारिस भएपछि खरेलले जिल्ला सभापति पदबाट राजीनामा नै दिएका थिए ।

ce109a09-104f-440e-8a3a-50961bd5d75c-scaledनगर अधिवेशनमा उनलाई जिल्ला प्रतिनिधि छनौट गर्नुपर्ने माग भएपछि अधिवेशन हलमा लफडा भएको थियो । निवर्तमान नगर सभापति गौतम भन्छन्, प्रतिनिधि छनौट प्रक्रिया हलमा भएको विवादकै कारण स्थगित भएको हो । निर्वाचन समिति, अनुशासन आयोग वा उपल्लो कमिटीले स्थगित गर्नुपर्नेमा हलको विवादका कारण स्थगित भएको छ ।

बिर्तामोडबाट आएका साथीहरुले बल मिच्याई गरे, उश्रृङ्खलता देखाए, उनी थप्छन् – जसका कारण प्रतिनिधि छनौट स्थगित भयो । मुडभेठ नहोस् भन्ने उद्देश्यले प्रक्रिया स्थगित गर्नुपरेको हो । अनुशासन आयोगले कारबाही गरिसकेको तर साधारण सदस्य रहिरहेको कारण वडाले खरेललाई प्रतिनिधि सिफारिस गरेको थियो ।

चैत अन्तिम सातामा मेचीनगरको अधिवेशन गर्ने तयारी भएपनि खरेलकै कारण लम्बिएको कतिपय नेताहरुको आरोप छ । उनले केन्द्रका आफू पक्षधर नेताहरुको सल्लाह बमोजिम नगर अधिवेशनलाई बैशाख अन्तिमससम्म धकेलेको एक जिल्ला नेता बताउँछन् । प्रदेश समिति खरेलको पूरा विपक्षमा छ, एक नेता भन्छन् – केन्द्रको केहि नेतासँगको लिगेसीका कारण खरेलले नगर अधिवेशनमा ‘गेम’ खेले ।

नगर अधिवेशनमा खरेलकै कारण समस्या हुन सक्ने कार्यबहाक सभापति डिपी अर्याल, नेताहरु तोसिमा कार्की र रमेश प्रसाईलाई गोप्य रुपमा पूर्व जानकारी समेत गराइएको थियो ।

खरेलमाथि उजुरी परेपछि जिल्लाको अनुशासन आयोगले पीडित पक्षहरुसँग छलफल गरेर प्रमाणका आधारमा साधारणसदस्य समेत नरहने गरी कारबाही गर्न प्रतिवेदन बुझाएको थियो ।

नगर अधिवेशनका क्रममा विहान एकछिन देखा परेका खरेल काम विशेषले छिट्टै बाहिरिएका थिए । उनले पार्टी गतिविधिभन्दा बाहिर रहेको इजलाससित बताएका छन् । अधिवेशनको घटनाबारे आफूलाई केही पनि जानकारी नभएको बताएका छन् । हलमा विवाद हुनुमा खरेलकै भूमिका रहेको एक नेताले जानकारी दिए ।

नगरले सन्तोष राजवंशीलाई सभापतिमा सर्वसम्मत गरेको छ ।

जान्नेलाई छान्ने’ नाराका साथ स्थापित रास्वपाको मेचीनगर अधिवेशनमा देखिएको विवादले नयाँ पार्टीभित्र पनि पुराना समस्या दोहोरिने संकेत गरेको छ। पारदर्शिता अनुशासनको प्रतिबद्धता लिएर अघि बढेको पार्टीभित्र यस्तो घटना हुनुले रास्वपाको छवि कमजोर हुनसक्ने आँकलन गरिएको छ।

इजलास दैनिकबाट