काठमाडौँ—नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य मातृशोकमा छन्। गत वैशाख २६ गते आफ्नी आमा गुमाएका वैद्य यसबीचमा घर (दाङ) बसेर सोमबार मात्रै काठमाडौं फर्किने क्रममा थिए। दमका रोगी वैद्य भैरहवा विमानस्थलको भीआईपी कक्षमा आराम गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई खोजी-खोजी भेटेका छन्।

बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजित समारोहमा सम्बोधन गर्न भैरहवा अवतरण गरेका प्रधानमन्त्री ओलीले वैद्य त्यहीं रहेको थाहा पाएपछि भीआईपी कक्षमा पुगेर उनलाई भेटे।

ओलीले वैद्यलाई भेट्नेबित्तिकै स्वास्थ्य अवस्थाबारे सोध्दै भने, "तपाईंको स्वास्थ्य कस्तो छ? दमले सताएको होला।" साथै आमाको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै "आफ्नो ख्याल गर्नुहोला," भने। जवाफमा वैद्यले स्वास्थ्य ठीकै रहेको बताए।

वैद्यले पनि ओलीलाई स्वास्थ्यबारे सोध्दा ओलीले ठट्यौली पारामा भने, "म त अझै जवान छु।"

प्रधानमन्त्री र वैद्यबीचको यो भेट सहानुभूतिपूर्ण थियो। वैद्य मातृशोकमा रहेका बेला प्रधानमन्त्रीले विशेष ध्यान दिएर खोजी-खोजी भेट्नुले मानवीयता झल्काएको नेताहरूको भनाइ छ।