विराटचोक—मोरङको बेलबारी नगरपालिकाभित्रका ६ वटा सामुदायिक विद्यालयका ७७९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टको सहयोगमा न्यू लाइट फाउन्डेसन र एकीकृत हातेमालो समाजको समन्वयमा झोलासहित शैक्षिक सामग्री वितरण गरिएको हो।

विशेषगरी आर्थिक रूपमा कमजोर, दलित, र जेहनदार विद्यार्थीलाई लक्षित गर्दै सामग्री वितरण गरिएको एकीकृत हातेमालो समाजका केन्द्रीय अध्यक्ष डिल्लीराम गिरीले जानकारी दिए।“कतिपय विद्यार्थीलाई किताब-कापी हातमै बोकेर विद्यालय जानुपर्ने बाध्यता थियो। अब उनीहरूको पठनपाठन सहज हुने विश्वास छ,” उनले भने।

श्री किसान आधारभूत विद्यालय, श्री रामजानकी आधारभूत विद्यालय, श्री देवकोटा आधारभूत विद्यालय, श्री रणपाल विद्यालय, श्री एकता आधारभूत विद्यालय, र श्री महेन्द्र आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको न्यू लाइट फाउन्डेसनका प्रबन्धक आसिफ हसनले बताए।

“किताब-कापी हातमा बोकेर विद्यालय आएका बालबालिकाले झोलामा सामग्री राखेर फर्किंदा उनीहरूको अनुहारमा देखिएको खुसी प्रेरणादायी बन्यो,” हसनले भने।

विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर अधिकारीले झोला र शैक्षिक सामग्री पाएपछि विद्यार्थीमा विद्यालयप्रति आकर्षण बढेको बताए। “सहयोगले बालबालिकाको पठनप्रतिको रुचि झन् बढ्ने विश्वास छ। संघसंस्थाप्रति आभार व्यक्त गर्दछु,” उनले भने।

शैक्षिक सामग्री वितरण कार्यक्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइराला,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुखाराम भगत,  वडा नम्बर ६ का वडाध्यक्ष डिल्लीबहादुर कटुवालसहित अभिभावक तथा स्थानीय प्रतिनिधिहरूको सहभागिता थियो।

एकीकृत हातेमालो समाजले मोरङको बाहुनी, तेतरिया, मोतीपुर, बेलबारीलगायत क्षेत्रमा विगतदेखि नै शैक्षिक सामग्री वितरण गर्दै आएको छ। साथै, समाजले ज्येष्ठ नागरिकहरूका लागि दिवा सेवा केन्द्रको भवनसमेत निर्माण गरेको छ।

शैक्षिक सामग्री वितरणले विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउन मात्र होइन, उनीहरूको भविष्यप्रति थप सकारात्मक सोच र प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।