रौतहट — पछिल्लो समय रौतहटमा नेकपा एमालेको संगठनात्मक विस्तार तीव्र गतिमा भइरहेको छ। कपा एमालेका नेताहरूको पहलमा माओवादी पार्टीका एकजना वडा प्रत्यासीसहित सिंगो सिमरी गाउँका बासिन्दाहरु नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका छन्।

गुजरा नगरपालिका–३ सीमरीमा बुधबार आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा वडा प्रत्याशी काजीमान माझीले माओवादी पार्टी छोडेर एमालेमा प्रवेश गरेका हुन्। उनीसँगै गाउँका झण्डै ३०० जना स्थानीय बासिन्दाले पनि एमालेमा सामेल भएको घोषणा गरेका छन्।

गुजरा नगर कमिटीद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज अजय गुप्ता र केन्द्रीय सदस्य कुन्दन कुशवाहाले नवप्रवेशीहरूलाई माला र टिका लगाएर स्वागत गरे। कार्यक्रममा भूमी आयोग केन्द्रीय सदस्य आरती भण्डारी, पूर्व राज्यमन्त्री तथा प्रदेश सांसद केशव राय चौधरी, भूमी आयोग जिल्ला अध्यक्ष अखिलेश्वर चौधरी, जिल्ला कमिटी सदस्य एवं क्षेत्र ३ का अध्यक्ष युवराज ज्ञवाली, मेयर प्रत्याशी शेख एकरामुल लगायत पार्टीका नेताहरूको उपस्थिति रहेको थियो।

माओवादी नेतृत्वले जनचाहना अनुसार परिवर्तन गर्न नसकेको कारण एमालेमा प्रवेश गरेको बताए।उनी सशस्त्र द्वन्द्वकालदेखि नै माओवादी पार्टीमा सक्रिय थिए ।

एमाले केन्द्रीय सदस्य कुन्दन कुशवाहाले क्षेत्र ३ को इन्चार्जको जिम्मेवारी सम्हालेपछि पार्टीको गतिविधि र संगठनात्मक सक्रियतामा उल्लेखनीय वृद्धि भएको उल्लेख गरिएको छ। करिब ४०० जनसंख्या रहेको सीमरी गाउँका बहुसंख्यक बासिन्दा एमालेमा प्रवेश गर्नुले पार्टीको लोकप्रियता झन् बढिरहेको संकेत गरेको छ।