खोटाङ – रास्वपाको रावाबेँसी गाउँपालिका सभापति कृष्ण पाण्डे सहित सिंगो पालिका कमिटी एमालेमा प्रवेश गरेका छन्। बैशाख ३१ गते डुम्रेधारापानीको धैरेनीटारमा आयोजित अगुवा कार्यकर्ता भेलाको अवसरमा पाण्डेसहित उनका समर्थक एमालेमा समाहित भएका हुन्।

नवप्रवेशी पाण्डेलाई एमाले पोलिटब्युरो सदस्य तथा खोटाङ इन्चार्ज विशाल भट्टराईले पार्टीमा स्वागत गरेका थिए।

पाण्डेले रास्वपाको सिंगो पालिका कमिटी एमालेमा प्रवेश गरेको जानकारी गराउँदै, रास्वपाका नेतृत्व अपरिपक्व र ठगीजस्ता गतिविधिमा संलग्न रहेको आरोप लगाए। उनले मुलुकको दीर्घकालीन विकासका लागि एमालेजस्तो परिपक्व र संगठित पार्टीमा आबद्ध हुनु उपयुक्त रहेको बताए।

कार्यक्रममा पोलिटब्युरो सदस्य भट्टराईसँगै एमाले केन्द्रीय सदस्य खगेन्द्र राई, नेता लिलानाथ निरौला, कौशिला गुरुङ, बाबुराम जोशी, वीरेन्द्र मगर, र अनेरास्ववियुका जिल्ला अध्यक्ष बिष्णु उपरकोटी लगायतको उपस्थिति थियो।

यो समायोजनसँगै एमालेले खोटाङमा आफ्नो संगठन थप बलियो बनाउँदै लगेको छ।