विराटनगर—मोरङको ग्रामथान गाउँपालिका-२ का वडाध्यक्ष यादव खतिवडाले गाउँपालिका अध्यक्ष नमोनारायण माझीमाथि गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन्। अध्यक्ष माझी नेकपा (माओवादी केन्द्)बाट निर्वाचित भएका हुन् भने वडाध्यक्ष खतिवडा नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधि हुन्।
वडाध्यक्ष खतिवडाले भुक्तानी रोकिएको विषयमा वैशाख ३१ गते आयोजना गरिएको एक दबाबमूलक कार्यक्रमपछि अध्यक्ष माझीका निकट सहयोगी गयानन्द माझीले पनि आफूलाई ज्यान मार्ने धम्की दिएको बताएका छन्। कार्यक्रमपछि स्वास्थ्य चौकी पिडारवनीमा आयोजित सार्वजनिक कार्यक्रममा अध्यक्ष माझीले समेत अपशब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए।
खतिवडाको आरोप अनुसार, गाउँपालिकाका विविध गतिविधिमा आफू संलग्न भएको, लेखा शाखाको काममा चासो दिएको र केही अनियमिततामाथि प्रश्न उठाएको विषयमा अध्यक्ष माझी र उनको समूहले आफूविरुद्ध आक्रोश देखाउँदै ज्यान मार्ने धम्की दिएको हो। उनले आफूविरुद्ध मुद्दा लगाउने धम्की पनि दिइएको बताए।
घटनापछि नेकपा(एमाले) मोरङले प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष माझीमाथि कडा कारबाहीको माग गरेको छ। पार्टीका जिल्ला अध्यक्ष अजम्बर राईले वडाध्यक्ष खतिवडाको शारीरिक सुरक्षाका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
यता, गाउँपालिका अध्यक्ष नमोनारायण माझीले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन्। उनले भने, “वडाध्यक्षले जनताको काम नगरेकाले केही टिप्पणी भएको हो, तर त्यो गालीगलौज वा धम्की भन्ने हैन। जनताको आक्रोशलाई धम्की भनेर बुझ्न मिल्दैन।”
माझीले वडाध्यक्ष खतिवडामाथि पार्टी अध्यक्षझैँ भूमिका निर्वाह गरेर वडास्तरीय जिम्मेवारीबाट च्यूत भइरहेको आरोप पनि लगाएका छन्। “जनताले अपेक्षा गरेअनुसार काम नभएको देखेर असन्तुष्टि जनाएका हुन्,” उनले थपे।
गत मङ्सिर १६ गते भएको उपनिर्वाचनबाट अध्यक्षमा निर्वाचित भएको केही समय पनि नबित्दै माझी विभिन्न बिवादमा पर्ने गरेका छन । यो भन्दा अघिपनि लोहन्द्रा खोला ठेक्काको विषयमा उनी विवादमा परेका थिए । त्यसैगरी उपाध्यक्ष र उनै वडाध्यक्षले चड्ने गाडीको चाबी खोसेर अध्यक्ष माझि अर्को विवादमा परेका थिए ।
त्यस्तै गत चैत अन्तिममा ९ दिनका लागि चीन भ्रमणमा जाने बेलामा अध्यक्ष माझीले आफ्नो अनुपस्थितिमा कामकाज गर्नेगरी उपाध्यक्ष हुदाँहुदैँ पनि माओवादी केन्द्रबाट निर्वाचित वडा नम्बर ३ का वडाध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहकको जिम्मेवारी दिएर विवाद खडा गरेका थिए ।
कानुनतः अध्यक्षले आफ्नो अनुपस्थितिमा उपाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिनुपर्छ । अध्यक्षलाई उपाध्यक्षले शुभयात्रा पनि नभनेको भन्ने आरोप लगाएर वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए ।
माथिको घट्नाक्रमले ग्रामथान गाउँपालिकामा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्षले एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष माथि राजनीति प्रतोशोध साधेको चर्चा चल्न थालेको छ ।


















