काठमाडौं—नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेबाट निकालिएका डा.भीमबहादुर रावललाई गृह जिल्ला अछाममा पुगेर सहकार्य गर्न आग्रह गरेका छन्। माओवादी मध्यपहाडी लोकमार्ग पुष्पलाल मार्ग जागरण अभियानअन्तर्गत अछामको साँफेबगरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले रावललाई माओवादीसँग हातेमालो गर्न अफर दिएका हुन्।
प्रचण्डले बताए, ‘कार्यक्रम आउँदै गर्दा भीम रावलको सम्पर्क कार्यालय देखेँ र फोनमा कुरा भयो। मैले उनलाई भने, किन अरु ठाउँ भौतारिरहनु भएको छ, आउनुस् हामी बसेर कुरा गरौं, सहकार्य गरौं।’ उनले जोड दिए, ‘जोसँग कुरा गर्नुपर्ने छ, त्योसँग नगरी अरूमा समय खेर फाल्नु हुँदैन।’
अध्यक्ष प्रचण्डले अछामका विकास योजनाहरू जस्तै सेती राजमार्ग, बुढीगंगा हाईडोपावर र बयालपाटा अस्पताललाई उचित बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता जनाए। उनले माओवादी बलियो हुँदा समग्र राष्ट्र बलियो हुने बताए र २०८४ मा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन अपिल गरे।
सभामा रामारोशन गाउँपालिकाका महिलाहरूले देउडा गीतमार्फत अछामको विकास र जनयुद्धका बेला घाइते शहिद परिवारको उचित व्यवस्थाको माग पनि गरेका थिए।




















