सर्लाही– सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ५ मा मुस्लिम समुदायका तस्लिम अन्सारीमाथि सुँगुरको खोरमा थुनेर कुटपिट गरिएको । छोरीको विवाहका लागि गरगहना बनाउने विषयमा विवाद हुँदा तस्लिमलाई सुनचाँदी व्यवसायी राजेन्द्र साह सोनारले सुँगुरको खोरमा थुनेर कुटपिट गरेका हुन् ।
तश्लिम अंसारीको छोरीको बिवाहका लागि गरगहना बनाउने विषयमा शनिवार बिहान १० बजेको समयमा स्थानीय सुनचाँदी पसले राजिन्द्र साह सोनारसँग वादविवाद र धक्कामुक्की भएको थियो ।
घटना भएको केहि समयमै सुनचाँदी व्यवसायी सोनारले स्थानीय केही व्यक्तिलाई लगाएर तश्लिम अंसारीलाई सुंगुर बस्ने खोरमा थुनेर कुटपिट गरेको पीडितका छोरा कौशर अंसारीको अरोप छ ।
यता, घटनामा संलग्न रहेको आरोपमा सर्लाही प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अन्सारी, उनका दाइ महम्मद अन्सारी, राजेन्द्र साह सोनार, सोनारका छोरा कमलेश साह सोनार, राहुल कुमार महतो र पप्पुकुमार यादव रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए ।
डिएसपी राईले घटनाको कारण र यसमा संलग्नहरुबारे अनुसन्धान भइरहेको बताए । ‘अहिले उजुरी परेको छैन उजुरी परेपछि हामी कानूनी प्रक्रियामा जान्छौँ । अहिले अनुसन्धान चलिरहेको छ ।’ डिएसपी राईले भने, कानूनभन्दा माथि कोही छैन, कानुन उल्लङघन गर्ने कार्य कुनै पनि हालतमा स्वीकार हुँदैन ।’
अन्सारीलाई कुटपिट गरेको भिडियोहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । सामान्य विवादमा पनि सुंगुरको खोरमा थुनेर कुटपिट गर्नु ठूलो मानविय अपराध भएको स्थानीयहरुले बताएका छन् । ‘एउटा मुस्लिम समुदायको व्यक्तिलाई सुंगुरको खोरमा राखेर कुटपिट गर्नु भन्दा ठूलो पीडा केही हुँदैन्’, पीडितका छोरा कौशरले भने, ‘यो हाम्रो सर्वसहरण भयो ।’



















