न्यूयोर्क–कम्याकस्थित सफोक वाई जेसीसीमा १६औं वार्षिक एशियन अमेरिकी र प्यासिफिक आइल्याण्डर (एएपीआइ) विरासत महिना भव्य रूपमा सम्पन्न भएको छ । “एक विश्व, अनेक संस्कृति” भन्ने मूल नाराका साथ आयोजना गरिएको यो उत्सवले सांस्कृतिक विविधता र सहकार्यको सन्देश प्रबर्द्धन गरेको छ ।
कार्यक्रमको शुभारम्भ बहुसांस्कृतिक मामिला तथा सामुदायिक संलग्नता विभागकी कार्यकारी निर्देशक लेस इओननिडिसको स्वागत मन्तव्यबाट भएको थियो । स्टोनी ब्रुक कोरसले राष्ट्रिय गान प्रस्तुत गरेर सबैलाई एकताको भावनामा बाधेका थिए । प्रमुख अतिथि डा. यान युले एएपीआइ समुदायको योगदानलाई सम्मान गर्दै सबै सहभागीलाई स्वागत गरेका थिए ।
मुख्य वक्ता सफोक काउन्टी कार्यकारी एडवर्ड पी. रोमेइनले एएपीआइ समुदायले काउन्टीको समृद्धिमा पुर्याएको योगदानको कदर गर्दै समावेशी समाज निर्माणको महत्त्वलाई जोड दिए।
कार्यक्रममा नेपालको तर्फबाट पृशा ढकाल, दिया छेत्री, सम्भृद्धि बरुवाल, र त्रिशा शाहले नेपाली गीतमा आधारित नृत्य प्रस्तुत गर्दै नेपालको सांस्कृतिक विविधता र कलाको सौन्दर्य प्रदर्शन गरेका थिए ।
कार्यक्रमको सफलतामा नेपाली समुदायको सक्रिय सहभागिता रहेको थियो । सफोक काउन्टी एशियन अमेरिकी सल्लाहकार बोर्डकी सचिव कल्पना थापा, ग्लोबल पार फाउन्डेसनकी अध्यक्ष एलिजाबेथ ढकाल, र एमबी फाउन्डेसनकी अध्यक्ष बिनिता जीसीले कार्यक्रम व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । नेपाली समुदायका अगुवा अर्जुनकुमार कार्कीले कार्यक्रमको सहजीकरणमा योगदान पुर्याएका थिए ।
१६औं वार्षिक एएपी विरासत महिना उत्सवले केवल सांस्कृतिक प्रदर्शनमात्र नभई, विविध पृष्ठभूमिका समुदायहरूलाई एउटै मञ्चमा ल्याउने अवसर प्रदान गर्यो। यस्ता कार्यक्रमहरूले सांस्कृतिक सहिष्णुता, सहकार्य, र आपसी सम्मानको भावना बढाउने विश्वास गरिएको छ।
“एक विश्व, अनेक संस्कृति” भन्ने नाराका साथ सम्पन्न यस उत्सवले विविधता भित्रको एकतालाई उजागर गर्दै भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ। सफोक काउन्टीमा यस्ता कार्यक्रमहरूको निरन्तरता सहिष्णु र एकजुट समाज निर्माणमा सहायक हुने अपेक्षा गरिएको छ।




















