काठमाडौं —विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि) मा अनेरास्ववियुको झन्डा फहराइएको छ। नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं राष्ट्रिय महाधिवेशनको लोगो सहितको झन्डा चुचुरोमा फहराइएको यो कार्यलाई संगठनले ऐतिहासिक सफलता मानेको छ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले सामाजिक सञ्जाल फेसबुकमार्फत् यो खबर सार्वजनिक गरेका हुन्। उनले लेखेका छन्,

"विश्वको सर्वोच्च शिखर सगरमाथामा अनेरास्ववियु २४औं राष्ट्रिय महाधिवेशनको लोगो र झन्डा फहरिनु हाम्रो साझा गौरवको क्षण हो। यो केवल झन्डा होइन, यो हाम्रो प्रतिबद्धता, साहस र संघर्षको प्रतीक हो।"

बडालका अनुसार, यो ऐतिहासिक प्रयास जलवायु परिवर्तनबारे चेतना फैलाउने उद्देश्यले गरिएको हो।उनले भनेका छन्,

"जलवायु परिवर्तनको प्रभावबारे चेतना फैलाउने र यसको रोकथामका लागि विद्यार्थीहरूको संगठन अनेरास्ववियु दृढ छ। हामी आवाज उठाउनेछौं, नेतृत्व गर्नेछौं, र भविष्यको लागि समाधानको बाटो देखाउनेछौं।"

सगरमाथाको चुचुरोमा झन्डा फहराउन विश्वप्रसिद्ध हिमाल आरोही मिङ्गमा डेभिड शेर्पाको विशेष भूमिका रहेको उल्लेख गर्दै अध्यक्ष बडालले उनलाई धन्यवाद व्यक्त गरेका छन्। शेर्पाको अद्वितीय प्रयासले यो अभियान सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै बडालले सम्मान र कृतज्ञता प्रकट गरेका छन्।

सगरमाथाको चुचुरोमा सामाजिक, वातावरणीय, र राजनीतिक सन्देशहरू बोकेर झन्डा फहराउने क्रम पछिल्लो समय उल्लेखनीय रूपमा बढेको छ। अनेरास्ववियुको यो प्रयास पनि जलवायु संरक्षण र युवाहरूको नेतृत्व विकासमा थप प्रेरणा प्रदान गर्ने उद्देश्यले गरिएको उल्लेख गरिएको छ।

यो अभियानले नेपाली विद्यार्थीहरूको एकता र साहसलाई विश्वभर चिनाउन मद्दत गर्ने विश्वास अनेरास्ववियुले व्यक्त गरेको छ।