झापा—झापामा तामाको तार चोरी गर्ने भारतीय गिरोह सक्रिय भएको छ । गिरोहका २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत दार्जिलिङ पानीट्यांकीका २७ वर्षीय तापच बरमण तथा २२ वर्षीय अमित सरकार रहेका छन् । उनीहरुलाई मेचीनगर नगरपालिका–७ स्थित चिया बगानबाट गत बुधबार बिहान पक्राउ गरिएको झापा प्रहरी प्रमुख एसपी राजन लिम्बूले बताए ।

प्रहरी चौकी सत्तीघट्टाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ४ मुठा तामाको तार फेला परेको थियो । त्यसलाई तौल गर्दा १ सय किलोग्राम भएको प्रहरीले जनाएको छ । उक्त तार करिब ८० हजार मूल्य बराबरको रहेको जानकारी एसपी लिम्बूले दिए ।

प्रहरी हिरासतमा रहेका दुवै जनाले उक्त तार मेचीनगर–१३ चारआली आसपासबाट चोरी गरेको प्रहरीलाई बताएका छन् । पक्राउ परेका बरमण र सरकारविरुद्ध नेपाल टेलिकम धुलाबारी शाखाले जाहेरी दिएको छ ।

टेलिकमले बिजुलीको पोलमा जडान गरिएको कप नेटवर्कको तार चोरी भएको उल्लेख गरेको छ । प्रहरीले चोरी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाएको छ ।