वीरेन्द्रनगरडोल्पाको ठाँगे लेकमा यार्सा संकलन गर्न गएका स्थानीयबीच झडप भएको छ। दुई गाउँको सिमानाका विषयमा विवाद उत्पन्न भएपछि काइके गाउँपालिका-२ सहरतारा र ठुलिभेरी नगरपालिका-१ थालाका स्थानीयबीच झडप भएको हो।

दुई गाउँका स्थानीयले भीरबाट ढुंगा खसाला खसाल गरेर झगडा भएको थियो। झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक मनिष थापाले बताए। उनका अनुसार कसले कहाँसम्म यार्सा संकलन गर्न पाउने भन्ने विषयमा दुई गाउँले बीच विवाद भएको हो।

डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार शनिबार जिल्लाको काइके गाउँपालिका-२ सहरतारा गाउँका स्थानीय नागरिक र ठुलीभेरी नगरपालिका-१ थाला गाउँका स्थानीय नागरिक बीच विवाद यार्सा टिप्ने विषयमा पाटनमा विवाद भयो। आ–आफ्नो पाटनको सिमाना भन्दै एक गाउँले अर्को गाउँलाई यार्सा नटिप्न भनेपछि दुवै गाउँका मानिसहरूबीच द्वन्द्व नै चल्यो।

सामान्य रूपमा सुरु भएको विवाद विस्तारै चर्को भएपछि ढुङ्गामुडाको स्थिति नै आयो। जसलाई सशस्त्र प्रहरीले नियन्त्रण गरेको छ। बर्सेनि डोल्पाका पाटनमा स्थानीय नागरिकहरू बीच यार्सा संकलनका क्रममा सामान्य रुपमा विवाद हुँदै आएको छ। यार्सा सिजनमा हुने विवाद समाधानका साथै अन्य सुरक्षाका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ।

प्रमुख जिल्ला अधिकारी महतका अनुसार डोल्पाको से–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा नेपाल आर्मी, अन्य पाटन क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। आज विवाद भएको ठाउँमा सशस्त्र प्रहरी परिचालन गरिएको थियो। जसका कारण उक्त विवाद समाधान गरी अब फेरि विवाद नगर्ने भनेर दुवै गाउँबीच सहमति गरिएको छ।

प्रहरीले सुरक्षा घेरा बनाएर आ–आफ्नो क्षेत्रमा यार्सा टिप्न र विवाद नगर्न समन्वय गरिरहेको छ। यो वैशाखबाटै सुरु भएको यार्साको सिजन जेठ अन्तिमसम्म संकलन गरिन्छ। त्यस बेलासम्म प्रशासनले यार्सा संकलन गर्ने पाटन क्षेत्रमा विवाद र झै झगडा हुन नदिन सुरक्षा व्यवस्था मिलाएको छ।

डोल्पामा जेठ १० गतेदेखि बहुमूल्य जडीबुटी यार्सागुम्बाको संकलन सुरु गर्ने निर्णय भएको थियो। तर मानिसहरू त्यस अगाडि नै यार्सा संकलनका लागि पाटन गएका थिए। डिभिजन बन कार्यालयले ११ वैशाखमा गरेको सर्वपक्षीय बैठकले जेठ १० देखि यार्सागुम्बा संकलन गर्ने निर्णय गरेको थियो। डिभिजन वन कार्यालयका अनुसार जिल्ला बाहिरबाट आउनेलाई प्रति व्यक्ति २ हजार, जिल्ला भित्रका नागरिकलाई प्रति व्यक्ति १ हजार र सामुदायिक वन क्षेत्र भित्रका स्थानीयलाई प्रति व्यक्ति ५ सयका दरले प्रवेश शुल्क निर्धारण गरिएको छ।

यार्सागुम्बा चोरी नाकाहरू कडाइ गर्ने र चोरी गर्ने व्यक्ति फेला पारे कारबाही समेत गर्ने निर्णय गरिएको छ। गरिबको मुख्य आयश्रोत मानिने यार्सा डोल्पाको डोल्पूबोध गाउँपालिका, छार्काताङसुङ गाउँपालिका, काइके गाउँपालिका, जगदुल्ला गाउँपालिका लगायत क्षेत्रको ३२ स्थानमा पर्याप्त मात्रामा पाइने गरेको डिभिजन वन कार्यालयले जनाएको छ। त्रिपुरा सुन्दरी र ठूलीभेरी नगरपालिकाको केही स्थानमा पनि कम मात्र यार्सा पाइने गरेको छ। पैसा कमाउने लोभले डोल्पाको पाटन क्षेत्रमा यार्सा टिप्न विभिन्न जिल्लाबाट हजारौं स्थानीय पाटन प्रवेश गर्ने गरेका छन्।