काठमाडौं—गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायले कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्ने बताएका छन्। शनिबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै उनले गृह मन्त्रालयमा लाखौँ कर्मचारीहरू रहेको उल्लेख गरे।

उनले भने, “गृह मन्त्रालय यत्रो ठूलो मन्त्रालय हो। यसमा लाखौँ कर्मचारी छन्। संवैधानिक निकायले कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ।”

उनले थपे, “कुनै कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने पद्धति बसाउने हो? के यो सम्भव छ?” गृहमन्त्री लेखकले आफूमाथि राजनीतिक रूपमा नियोजित र षड्यन्त्रमूलक रूपमा झुटा प्रचार भइरहेको आरोप लगाए।

लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भिजिट भिसाका विषयमा उठेका विवाद मात्रै नभई, आफ्नो सार्वजनिक र राजनीतिक जीवनमा कुनै आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाट नै राजीनामा दिने बताए।

उनले भने, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसाका विषय मात्रै होइन, मेरो सार्वजनिक र राजनीतिक जीवनमा एउटा पनि आर्थिक अनियमितता प्रमाणित भए म पदबाट मात्र होइन, राजनीतिबाटै राजीनामा दिनेछु।”

गृहमन्त्री लेखकले भने, “मेराविरुद्ध नियोजित र षड्यन्त्रमूलक रूपमा झुटा प्रचार भइरहेको छ। विमानस्थल अध्यागमन घटनाका सम्बन्धमा विस्तृत धारणा राख्न मैले जेठ १३ गतेको प्रतिनिधिसभा बैठकमा समय मागेको छु। त्यहाँ सत्यतथ्य कुरा सार्वजनिक गर्नेछु।”

यसअघि, गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालय नेतृत्वलाई जोडेर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो।

मन्त्रालयले कुनै पनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा आफ्नो संलग्नता नरहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनाबारे छानबिन गरिरहेको जानकारी दिएको छ।

मन्त्रालयले भनेको छ, “मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील छ। आयोगको छानबिन र अनुसन्धानमा पूर्ण सहयोग गरिनेछ।”