झापा—“काम सानो–ठूलो हुँदैन, मेहनत गरे फल पाइन्छ” भन्ने भनाइलाई जीवनमा चरितार्थ गर्दै अर्जुनधारा नगरपालिका–६ की मिना बस्नेतले साधारण चिया व्यवसायलाई कर्मठता र सेवा भावले असाधारण बनाएकी छन्। ३२ वर्षीया मिना अहिले आत्मनिर्भर जीवन बिताउँदै, झापाको बिर्तामोड र अर्जुनधाराका मुख्य बजारमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी छन्।
दुई वर्षअघि, मिना साइकलमा थर्मसमा तातो चिया बोकेर गल्ली–गल्ली पुग्ने संघर्षबाट आफ्नो यात्रा सुरु गरिन्। यो सामान्य प्रयासले आज बिर्तामोडका अफिस, सडक, र गल्लीहरूमा लोकप्रिय मोबाइल चिया सेवाको रूप लिएको छ।
मिना ग्राहकहरूबाट फोन वा सन्देशमार्फत अर्डर लिन्छिन् र १० मिनेटभित्र चिया पुर्याउने गर्छिन्। उनले कालो चिया १५ रुपैयाँ र दूध चिया २० रुपैयाँमा बेच्छिन्। यसरी दैनिक हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएकी मिना आफ्नो पाँच जनाको परिवारको आर्थिक आधार बनेकी छन्।
मिनाको आम्दानीले उनको सानी छोरीको शिक्षा र अटिजम भएका जेठा छोराको हेरचाहमा ठूलो भूमिका खेलेको छ। श्रीमान् भीम थापा विदेशबाट फर्केर घरमै बसेर छोराको स्याहारमा सहयोग गरिरहेका छन्। बिहान भीमले सातु र चिया तयार पार्छन्, त्यसपछि मिना बजार निस्कन्छिन्। दुवै मिलेर खाना पकाउनेदेखि चिया बेच्ने कामसम्म अगाडि बढाइरहेका छन्।
सुरुवातमा लाज लागेको अनुभव गरे पनि अहिले मिना बिर्तामोड र अर्जुनधारामा सबैले चिनेको अनुहार बनिसकेकी छन्। ग्राहकहरूको माया र सहयोग पाउँदा उनी थप उत्साहित छन्। “ग्राहकहरूले माया दिनुहुन्छ, धेरै साथी बनेका छन्,” मिना भन्छिन्।
सीमित लगानीबाट सुरु भएको व्यवसायलाई विस्तार गर्ने योजना बनाउँदै, मिना थप थर्मस किन्ने, एक जना सहायक राख्ने, र अर्डर व्यवस्थापनलाई व्यवस्थित बनाउने सोचमा छन्।
मिना बस्नेतको यात्रा कामप्रति सम्मान, मेहनत र निरन्तरताको प्रेरणादायी उदाहरण हो। सानो प्रयासबाट सुरु भएको यो व्यवसाय आज आत्मनिर्भर जीवनको आधार मात्र बनेको छैन, बरु समुदायका लागि प्रेरणाको स्रोतसमेत बनेको छ।



















