पोखरा—नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपालले नयाँ नेतृत्व चयन गर्न निर्वाचनको तयारी गरेको छ। शनिबार प्रतिनिधिहरूको नामावली प्रकाशित भइसकेको छ भने मतदानका लागि ४६ वटा इलेक्ट्रोनिक भोटिङ मेसिन ल्याइएको छ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुने तय भएको युवा संघका एक केन्द्रीय नेताले जानकारी दिए ।

अध्यक्षका दावेदार थेबे यसअघि महासचिव हुँदै संघको नवौं (नेपालगञ्ज) महाधिवेशनबाट अध्यक्ष चुनिएका थिए भने पुरी उपाध्यक्ष, महासचिव हुँदै अहिले अध्यक्षका दाबी गरिरहेका छन्।  थेबेलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, र संघका पूर्वअध्यक्ष महेश बस्नेतलगायतले समर्थन जनाएका छन्।  

पुरीलाई स्थायी कमिटी सदस्य कर्ण थापा, पूर्वअध्यक्ष रमेश पौडेल, वचनबहादुर सिंह, र नेता विनोद ढकाललगायतको समर्थन छ।

संघका इञ्चार्ज राजीव पहारीले सहमतिको प्रयास भइरहेको जानकारी दिएका छन्। उनले भने, "हामीले सकेसम्म सहमति गरेर नेतृत्व चयन गर्न चाहन्छौं। सहमति नभए निर्वाचनको प्रक्रिया अघि बढ्छ।"

अहिले प्रतिनिधिका विषयमा छलफल भइरहेको र छलफल सकिएपछि उम्मेदवारी दर्ताका प्रक्रिया सुरू हुने एक नेताले जानकारी दिए। 

युवा संघमा केन्द्रीय आयोगहरूको प्रतिनिधि विवाद छ। केही सदस्यहरूले शपथ नखाएकाले उनीहरूलाई प्रतिनिधित्व गराउने नि नगराउने भनेर छलफल भइरहेको छ। युवा संघमा निर्वाचन, अनुशासन, लेखा र युवा विज्ञ परिषद् गरी चारवटा आयोग छन्। 

 एमाले अध्यक्ष केपी शर्मा ओलीले  जेठ ९ गते उद्घाटन  गरेको दसौं महाधिवेशन आइतबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न गर्ने कार्यतालिका छ। महाधिवेशनमा पालिका, जिल्ला, र प्रदेश तहका गरी १,८३६ जना प्रतिनिधि सहभागी छन्।