विराटनगर— सुनसरीको बराहक्षेत्र नगरपालिका–३ निवासी ५५ वर्षीय रामप्रसाद लिम्बू दैनिक ज्यालामजुरी गरेर परिवार पाल्ने सर्वसाधारण हुन्। शनिबार साँझ च्याउ खोज्न गएका उनी जंगलबाट फर्किने क्रममा सादा पोसाकमा खटिएका प्रहरीले गोली हानेपछि गम्भीर घाइते बनेका छन्। लिम्बूलाई प्रहरीले गोली हानी घाइते बनाएको घटनाले व्यापक विवाद निम्त्याएको छ।
वडा सदस्य ध्वजवीर लिम्बूका अनुसार, साँझ ७ बजेतिर जंगलबाट निस्किँदै गर्दा रामप्रसादको जम्काभेट ४–५ जना अपरिचित युवासँग भएको थियो। सोही बेला सादा पोसाकका प्रहरीले गोली चलाउँदा निहत्था लिम्बू घाइते भएका थिए। गोली उनको पिँडुलामा लागेको छ र हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ।
कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले लिम्बूले खुकुरी निकालेर प्रहरीमाथि प्रहार गर्न खोजेपछि आत्मरक्षार्थ गोली चलाएको दाबी गरेका छन्। घटनास्थलबाट खुकुरी, खन्ती, र आरा जस्ता औजार बरामद गरिएको प्रहरीको भनाइ छ।
रामप्रसादको परिवार र स्थानीयले भने प्रहरीको दाबीलाई अस्वीकार गरेका छन्। उनीहरूले रामप्रसादसँग त्यतिबेला एउटा प्लास्टिकको झोला मात्र रहेको बताएका छन्। वडा सदस्य लिम्बूले भने, “प्रहरीले खुकुरी प्रहारको बहाना बनाए पनि घटनास्थलमा खुकुरीजस्तो कुनै वस्तु थिएन।”
घटनापछि स्थानीयबासी आक्रोशित छन्। उनीहरूले “काम देखाउने हतारोमा निहत्था नागरिकमाथि गोली चलाएको” भन्दै प्रहरीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्।
घटनासँग गाँजा वा काठ तस्करीको सम्बन्ध देखाइएको भए पनि प्रहरीले हालसम्म त्यससम्बन्धी ठोस प्रमाण सार्वजनिक गर्न सकेको छैन। सुरुमा लागुऔषध तस्करीको आरोप लगाइएकोमा पछि काठ तस्करीको अभियोग लगाइएको प्रहरीको बदलिँदो बयानले घटनालाई ढाकछोप गर्न खोजिएको आशंका गरिएको छ।
वडाध्यक्ष राजदीप लामाले अनुसन्धान जारी रहेको भन्दै घटनाबारे तत्काल टिप्पणी गर्न नमिल्ने बताए। प्रारम्भिक जानकारीअनुसार रामप्रसाद न त काठ तस्कर हुन् न गाँजा कारोबारी।
इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रमुख इन्स्पेक्टर दिवश कुँवरले रामप्रसादको साथमा जहिल्यै खुकुरी रहने दाबी गर्दै गोली आत्मरक्षाका लागि चलाएको बताएका छन्। तर, उनका विगतका क्रियाकलापमाथि स्थानीयले बारम्बार प्रश्न उठाएका छन्।
घटनाको सत्यतथ्य पत्ता लगाउन निष्पक्ष अनुसन्धानको माग गर्दै स्थानीयले न्याय सुनिश्चित गर्न आग्रह गरेका छन्।



















