काठमाडौं—गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा बदमासीको गन्ध आएपछि बिमिानस्थल कार्यालयका अध्यागमन प्रमुखसहितका कर्मचारी सरुवा गरेको बताएका छन् ।
सोमबार बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा ब्रिफिङ गर्दै गृहमन्त्री लेखकले भिजिट भिसा काण्डमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै केही कर्मचारीले बदमासी गरेपछि सरुवा गरेको बताएका हुन् ।
‘हामीहरूले भिजिट भिसा प्रकरणमा के हो भनेर कुरा उठायौं । गृहमन्त्रीले आफ्नो बारेमा उठेका प्रश्नबारे बैठकमा जवाफ दिनुभयो,’ पूर्वउपसभापति गोपालमान श्रेष्ठले बैठकपछि भने, ‘केही कर्मचारीले बदमासी गरेको थाहा पाएपछि कर्मचारी हटाएको हुँ भनेर उनले प्रस्ट पारे ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा केही कर्मचारीको संलग्नता देखिएपछि भिजिट भिसामा विदेश पठाउँदाको बदमासी बाहिर आएको थियो । सो प्रकरणमा गृहमन्त्री आफै संलग्न रहेको र मासिक ५० लाख बुझाउने गरेको आरोप लागेको छ । गृहमन्त्री लेखकले भने कर्मचारीको बदमासीमा आफूलाई जोडेर राजनीतिक रूपमा चरित्रहत्या गर्न खोजिएको जिकिर गरेका छन् ।
‘कर्मचारीले बदमासी गरेको थाहा पाएपछि कर्मचारी हटाएँ। तर, तिनै कर्मचारीको बदमासीमा आफूलाई जोडेर राजनीतिक रूपमा चरित्रहत्या गर्न खोजियो,’ गृहमन्त्री लेखकको भनाई थियो ।
‘अध्यागमनमा भएका बदमासीका विषय थाहा भएपछि र कम्प्लेन आएपछि केही कर्मचारीलाई मन्त्रालय तानेको पनि उहाँको जिकिर छ । कर्मचारीलाई तानेर कार्वाही गरेकोबाहेक केही छैन । मेरो कुनै संलग्नता छैन । मलाई व्यक्तिगत रूपमा राजनीतिक आक्रमण भयो । बदनाम गर्ने काम भयो भनेर उनले भने, ’ बैठकमा गृहमन्त्री लेखकको भनाई उधृत गर्दै सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले भनिन, ‘यस्ता गलत कुरामा मेरो संलग्नता छैन । पार्टीले जे भन्छ, त्यही गर्छु भन्ने उहाँको कुरा थियो ।’
बैठकमा गृहमन्त्री लेखकले प्रस्टीकरण दिएपछि पार्टीले लेखकको पक्षमा उभिने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्कासहितका नेताले काम गर्दा समस्या आउने भन्दै समस्यासँग जुधेर जाने बताएका थिए ।
‘गलत गरेको छैन भने कोही डराउनु हुँदैन । कर्मचारीको बदमासीमा मन्त्रीले नै राजीनामा दिने हो भने कसरी चलाउन सकिन्छ ? कुनै पनि मन्त्रालय चल्दैनन । यसैले उहाँले मंगलबार संसदमा बोल्नुहुन्छ । अरू पदाधिकारीले पनि बोल्नुहुन्छ,’ बैठकमा अन्य नेताको भनाई थियो । बैठकले गृहमन्त्रीको विषयमा नबुझी प्रतिक्रिया दिएको भन्दै जिम्मेवार भएर प्रस्तुत हुन नेताहरूलाई सचेत गराउँदै निर्देशन पनि दिएको छ ।




















