पोखरा— राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयनका लागि हालका अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। पोखरामा जारी १०औं महाधिवेशनमा निर्वाचन कमिटीले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको नामावलीअनुसार अध्यक्षका लागि थेबे र पुरी आमनेसामने हुने तय भएको हो।
दुवै प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्। थेबे प्यानलबाट उपाध्यक्षका लागि महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् भने पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारीले उम्मेदवारी दिएका छन्।
महासचिवको पदका लागि थेबे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारी प्रतिस्पर्धामा छन्। महाधिवेशनको मतदान भोलि बिहान ८ बजेबाट सुरु हुने निर्वाचन कमिटीले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हालका अध्यक्ष क्षितिज थेबेलाई पुनः अध्यक्ष बनाउन निर्देशन दिएका भए पनि सुमन पुरीले आफ्नो अडान नछोडेकाले निर्वाचनमा प्रतिस्पर्धा गर्नुपरेको हो।




















