काठमाडौँ— गत चैत १५ गतेको राजावादी प्रदर्शनका क्रममा दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडलाई "आओ, आओ" भन्दै बोलाएको दृश्य खिच्ने युट्युबर प्रकाशचन्द्र दाहालविरुद्ध दुई फरक मुद्दा दायर गरिएको छ।

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालतमा अभियोगपत्र दायर गर्दै "नेपाल पुकार" युट्युब च्यानलका सञ्चालक दाहाललाई आपराधिक उपद्रव र संगठित अपराधको अभियोगमा कारबाहीको माग गरेको हो।

अभियोगपत्रअनुसार, दाहालले आपराधिक समूहसँग मिलेर राज्य संस्था र संवैधानिक संरचना उल्टाउने नियतले भएको घोषणासभामा सहभागी भई उपद्रवमा संलग्न भएको दाबी गरिएको छ।

उनीमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत व्यक्तिगत सम्पत्तिमा आगो लगाउने आपराधिक उपद्रवको कसुरमा सजाय माग गरिएको छ। साथै, संगठित अपराध निवारण ऐन, २०७० बमोजिम पनि उनलाई संगठित रूपमा अपराधमा संलग्न भएको आरोपमा कारबाही माग गरिएको हो।

उक्त दिन जनकमान्डर भनिने दुर्गा प्रसाईंले संसद् भवनतर्फ गाडीमार्फत जाने क्रममा प्रहरी घेराबन्दी तोड्ने प्रयास गरेका थिए। त्यही बेला गाडीमै सवार दाहालले प्रसाईंले भिडलाई "आओ, आओ" भन्दै बोलाएको दृश्य आफ्ना युट्युब च्यानलमा लाइभ गरेका थिए।

हाल उक्त भिडिओ निजी (प्राइभेट) बनाइएको छ तर यसले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको थियो।

प्रसाईं र उनका समर्थकहरूको गतिविधिले प्रहरी प्रशासनलाई चुनौती दिँदै सार्वजनिक शान्ति सुरक्षामा असर पार्ने प्रयास भएको भन्दै राज्य पक्षले दाहालमाथि पनि कारबाही अघि बढाएको हो।