विराटचोक– सुन्दरहरैंचा नगरपालिकाले १८ औं गणतन्त्र दिवसको अवसरमा विविध कार्यक्रमहरूसहित भव्य तयारी गरिरहेको छ। मंगलबार नगर प्रमुख केदारप्रसाद गुरागाईको अध्यक्षतामा बसेको स्थानीय राजनीतिक दलका प्रतिनिधि, संघ–संस्थाका प्रतिनिधिहरू तथा सरोकारवालाको संयुक्त बैठकले जेठ १४ देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेका अनुसार जेठ १४ गते नगरपालिकाका सबै वडामा सरसफाई कार्यक्रम सञ्चालन गरिनेछ।यसका लागि सम्बन्धित वडा कार्यालयले संयोजनको जिम्मेवारी लिएको छ।
जेठ १५ गते सुन्दरहरैंचा नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको संयुक्त आयोजनामा नगर कार्यपालिकाको कार्यालय प्रांगणमा बिहान ७ बजेबाट वृहत रक्तदान कार्यक्रम हुने छ।
जेठ १६ गते वडा नं. ४ स्थित बडहरा क्षेत्रमा बिहान ७ बजे वृक्षारोपण कार्यक्रम आयोजना गरिनेछ।
त्यसैगरी थप गतिविधिहरूमा विद्यालयहरूलाई सरसफाई र अतिरिक्त क्रियाकलापहरूमा सक्रिय बनाउने।
नगरक्षेत्रका सबै सरकारी कार्यालय, संघ–संस्था, र घरघरमा दीप प्रज्वलन र दीपावली गर्न नगरवासीलाई प्रोत्साहित गर्ने।
नगर प्रमुख गुरागाईले यी कार्यक्रमहरू मार्फत गणतन्त्र दिवसलाई सर्वसाधारणको जीवनमा अझै नजिक ल्याउने प्रयास गरिएको बताए। नगरप्रमुखले सम्पूर्ण नगरवासी, अभिभावक, युवा, विद्यार्थी, र संघ–संस्थाहरूलाई कार्यक्रममा सहभागी हुन हार्दिक आग्रह गरेका छन्।
गणतन्त्र दिवसको अवसरमा नगरवासीबीच एकता, सहयोग, र सहभागिताको भावना प्रवर्द्धन गर्ने उद्देश्यले यी कार्यक्रमहरू आयोजना गरिएको उल्लेख छ।



















