काठमाडौँ – रुपन्देहीको बुटवल उपमहानगरपालिका-११, मैत्रीपथमा पूर्वश्रीमानले आफ्नी श्रीमती र दुई छोरीको हत्या गरेका छन्। ३३ वर्षीया दीपा बस्याल, उनकी ७ वर्षीया छोरी स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्यालको हत्या भएको हो।
रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार पूर्वश्रीमान सुजन कोइरालाले बुधबार बिहान करिब ४ बजेतिर चक्कु र हम्मर प्रहार गरी हत्या गरेका हुन्। घटनाको जानकारी प्रहरीलाई बिहान ७ बजेमात्र पुगेको थियो।
प्रहरीका अनुसार दीपा बस्याल आफ्ना दुई छोरीसहित पूर्वश्रीमानको घरमा पुगेकी थिइन्। उनलाई मंगलबार नै छोरीसहित सुजनले आफ्नो घरमा बोलाएका थिए। प्रहरी उपरीक्षक क्षेत्रीले भने, “उनी किन गएकी थिइन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ। घटनास्थल सुरक्षित गरेर शवको मुचुल्का उठाउने प्रक्रिया सुरु गरिएको छ।”
दीपाले केही वर्षअघि सुजनसँग सम्बन्धविच्छेद गरेर नवलपरासीका अर्का व्यक्तिसँग विवाह गरेकी थिइन्। उनी पाल्पाको तानसेन नगरपालिका-७ स्थित कुनसरे आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत थिइन्।
प्रहरीले सुजन कोइरालालाई घटनास्थलबाटै पक्राउ गरी थप अनुसन्धान थालेको छ।
घटनाले स्थानीयवासी र परिवारका सदस्यहरूलाई स्तब्ध बनाएको छ। प्रहरीले घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान जारी राखेको छ।
हत्या अभियोगमा पक्राउ परेका कोइराला यसअघि आफ्नै दाजुको हत्या अभियोगमा जेल चलान भएका थिए भने संविधान दिवसको अवसरमा सरकारले दिएको माफीनामा रिहा भएका थिए।



















