काठमाडौँ— अमेरिकामा बस्दै आएका नेपाली मूलका मिन गुरुङलाई सामाजिक सञ्जालमार्फत घृणा फैलाउने, धम्की दिने र मानहानी गर्ने आरोपमा मे २१ मा अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन निकायले नियन्त्रणमा लिएको छ।

गुरुङ हाल पश्चिम भर्जिनियाको हन्टिङ्टनस्थित हिरासत कक्षमा रहेका छन्। उनी लामो समयदेखि टिकटकलगायत विभिन्न सामाजिक सञ्जालमा सक्रिय थिए।
उनीमाथि नेपाली तथा भुटानी समुदायलाई लक्षित गर्दै गालीगलौज र धम्कीपूर्ण सामग्रीहरू प्रसारण गरेको आरोप लागेको छ। समुदायबीच सामाजिक सद्भाव खल्बल्याएको भन्दै नेपाली तथा भुटानी समुदायले उनको विरोध गरेका थिए।


प्राप्त उजुरीका आधारमा गरिएको प्रारम्भिक अनुसन्धानपछि गुरुङलाई पक्राउ गरिएको हो। अमेरिकी अधिकारीहरूका अनुसार गुरुङमाथि आप्रवासन कानुन उल्लंघन, घृणात्मक अभिव्यक्ति, र समुदायबीच वैमनस्यता फैलाएको आरोप लागेको छ।
गुरुङलाई चाँडै आप्रवासन अदालतमा उपस्थित गराइने जानकारी दिइएको छ। टिकटकमा गुरुङको गिरफ्तारीसम्बन्धी समाचार फैलिएपछि धेरै प्रयोगकर्ताले यस विषयमा आफ्नो धारणा राखिरहेका छन्।
नेपाली तथा भुटानी समुदायले यस घटनालाई गम्भीर रूपमा लिएको र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।
स्रोत: समाचार एजेन्सी