काठमाडौँ— नेकपा (एमाले)को भ्रातृ संगठन अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) मा उमेरहदको विषयलाई लिएर विवाद चर्किँदो छ। पार्टीको केन्द्रीय सचिवालयले अनेरास्ववियुमा ३२ वर्षे उमेरहद लागू गर्ने निर्णय गरेपछि संगठनभित्र मतभेद उत्पन्न भएको छ।
अनेरास्ववियुका महासचिव नरेश रोकायले उमेरहदको निर्णयप्रति खुलेर असहमति जनाउँदै यसले संगठन र विद्यार्थी आन्दोलनको निरन्तरता खलबल्याउने दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले भने, "खेल सुरु भइसकेपछि नियम परिवर्तन हुँदैन। यो निर्णयले संगठनको आन्तरिक संरचना बिग्रने र आन्दोलन कमजोर हुने खतरा छ।"
यस्तै, उपाध्यक्ष नारायण घर्तीले उमेरहदको निर्णयलाई स्वीकार गरे पनि यो विषय महाधिवेशनबाटै समाधान गर्नुपर्ने सुझाव दिएका छन्।
अध्यक्ष समिक बडालले भने पार्टीको निर्णयलाई समर्थन गर्दै आन्तरिक असन्तुष्टि सामाजिक सञ्जालमा होइन, पार्टी प्रक्रियामार्फत समाधान गर्नुपर्ने धारणा राखेका छन्।
त्यसतै पार्टीका एक केन्द्रीय नेताले उमेरहद पार्टी र अध्यक्षमा पनि लागु हुनु पर्यो नि, अनेरास्ववियुमा मात्रै किन ? भनेर प्रश्न गरेका छन् ।
११ जेठमा बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेरहद लागू गर्ने निर्णय गरेको हो। महासचिव शंकर पोखरेलले सर्कुलर जारी गर्दै महाधिवेशनसम्म यो व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएका छन्।
अनेरास्ववियुमा उमेरहदको विषय लामो समयदेखि विवादको केन्द्रमा रहेको थियो। कांग्रेसनिकट नेविसंघ र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले उमेरहद लागू गरेपछि अनेरास्ववियुमा पनि यस्तो व्यवस्था लागू गर्न दबाब आएको थियो।
२४औँ महाधिवेशन नजिकिँदै गर्दा संगठनभित्र उमेरहदको विषयमा मतभेद झनै चर्किएको छ। तर, पार्टीले यसलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ।
संगठनका नेताहरूले यो विषय आन्तरिक बहसमा सीमित राख्दै महाधिवेशनलाई सफल बनाउन आग्रह गरेका छन्।
अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशन २५–२८ जेठमा हुने तय भएको छ।




















