बेलबारी— मोरङको बेलबारी नगरपालिका–१, बरडागीस्थित भलिबल खेल मैदानमा भलिबल खेल हेर्दै गरेका एक व्यक्तिको अचानक मृत्यु भएको छ।

शुक्रबार साँझ करिब ५ बजे, खेल हेर्ने क्रममा ४० वर्षीय डम्बर बहादुर राई अचानक बेहोस भई लडेका थिए । उनलाई तत्कालै उपचारका लागि बेलबारीस्थित नोबेल सामुदायिक अस्पताल पुर्‍याइएको थियो । तर,अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो।

चिकित्सकहरूले परीक्षणपछि डम्बरबहादुरलाई मृत घोषणा गरेका थिए । मृतकको शव हाल नोबेल अस्पतालमा राखिएको छ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीको टोली घटनास्थलमा पुगेको र आवश्यक अनुसन्धान कार्य अघि बढाएको बताइएको छ।

घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।