काठमाडौं—प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल विकासमा पछि पर्नुको मुख्य कारण निरङ्कुश राजतन्त्र रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले नेपाली जनताले संघर्ष गरेर ल्याएको लोकतन्त्रको रक्षा गर्नु सबैको जिम्मेवारी भएको बताए ।
प्रधानमन्त्री ओलीले गणतन्त्रविरुद्ध देखिएका केही गतिविधिलाई आलोचना गर्दै राजावादीहरूले दान-दक्षिणा दिएर आयातित मानिसहरू प्रदर्शनमा उतारेको आरोप लगाए। एमालेले जेठ १५ मा मनाएको गणतन्त्र दिवसलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दिएको अभिव्यक्तिलाई उहाँले “बालसुलभ” भन्दै टिप्पणी गरे।
उनले भने , "पहिलो दिन दान दिएर केही मान्छे ल्याइए, दोस्रो र तेस्रो दिन मान्छेहरू घट्दै गए। मेरो नातिले जिस्किएर ‘म डाइनोसर भएँ डर लागेन’ भनेर खेलेको याद आयो।"
राजतन्त्र फर्काउन खोज्नेलाई चेतावनी दिँदै उनले भने, "अगाडि हिँड्न खोजेको घोडालाई पछाडि फर्काउन नखोज, घोडाले लात्ताले हान्न सक्छ, होस् गर।"
प्रधानमन्त्री ओलीले अढाई सय वर्षको राजतन्त्रका कारण नेपालले प्रगति गर्न नसकेको उल्लेख गर्दै हालको अवस्थासँग तुलना गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, "दरबार हत्याकाण्डपछि कुशको बाहुनजस्तो नक्कली राजतन्त्र आयो। त्यसले झन् निरङ्कुशता लाद्यो, जनताको अधिकार खोस्यो, विकास गरेन, देश लुट्यो। अहिले फेरि त्यही राजतन्त्र ल्याउनुपर्छ भन्दा लाज मान्नुपर्ने हो।"
प्रधानमन्त्री ओलीले आफूले लडेर ल्याएको व्यवस्थाको रक्षा गर्नु जनताको उत्तरदायित्व भएको बताउँदै लोकतन्त्रलाई अझै सुधार गरेर अघि बढाउन सकिने धारणा व्यक्त गरे ।
फरक प्रसङ्गमा चिकित्सा क्षेत्रको महत्त्वबारे चर्चा गर्दै प्रधानमन्त्रीले चिकित्सा विज्ञानले आफ्नो जीवन पनि बचाएको उल्लेख गरे। उनले स्वास्थ्यकर्मीहरूलाई सचेत नागरिकका रूपमा राष्ट्रिय दायित्वमा लाग्न आग्रह गरे ।




















