बेलबारी—मोरङको बेलबारी नगरपालिका–२, लालभित्तिबाट एक स्थानका चार बालिका एकै पटक बेपत्ता भएका छन्।

गत बिहीबार बिहान ११ बजे घरबाट साथी भेट्न निस्किएका १५ वर्षीया सबिता परियार, १२ वर्षीया स्मृति परियार, १३ वर्षीया जेनिसा नेपाली र १२ वर्षीया अनुस्का परियार त्यसयता सम्पर्कविहीन रहेका छन्।
स्थानीयका अनुसार चारै जना आपसमा निकै नजिकका साथी थिए र सँगै हिँडेको देखिएको थियो।


परिवारजनहरू अहिले गहिरो चिन्तामा छन् भने बालिकाहरूको खोजीमा प्रहरीले तीव्रता दिएको छ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्ण खत्रीले बालिकाहरू बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ खोजी कार्य सुरु गरिएको जानकारी दिए। "हामीले बालिकाहरूको हुलिया दिई सबै युनिटहरूमा पत्राचार गरेका छौँ," उनले बताए।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। यद्यपि समाचार तयार पार्दासम्म बालिकाहरूको अवस्था वा स्थानबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।