काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अब "रकेटको चाल" मा विकास गर्ने प्रतिबद्धता रहेको बताएका छन्।
मधेसको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले सञ्चालन गरेको ‘एक निर्वाचन क्षेत्र एक सडक (दोस्रो चरण)’ योजनाअन्तर्गत मधेस प्रदेशका ८ जिल्लाका ६४ निर्वाचन क्षेत्रमा ३२० किलोमिटर सडक निर्माणको डिजिटल शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मधेसमा विकासको नयाँ युग सुरु हुने दाबी गरे।
प्रधानमन्त्री ओलीले भने, "मैले आज शिलान्यास गरेको सडक निर्माण गुणस्तरीय ढंगले सम्पन्न भई मधेस प्रदेशको विकासमा ठूलो योगदान पुर्याउनेछ। मधेस जागरुक प्रदेश हो। यो राम, जानकी, र पर्शुरामको भूमि हो। यो देवी-देवताको भूमि हो र यहाँका प्रसिद्ध तीर्थस्थलहरूले यसलाई ऐतिहासिक बनाएका छन्। विगतमा ऐतिहासिक कारणले विकास पछि परेको भए पनि अब तीव्र गतिमा अगाडि बढ्नेछ।"
प्रधानमन्त्रीले विकासका लागि सुशासनलाई पहिलो शर्तका रूपमा उल्लेख गर्दै अरूको मुख ताक्ने होइन, आफ्नै प्रयासबाट सुशासन कायम गर्नुपर्ने बताए। उनले मधेसलाई ज्ञान र साहित्यको केन्द्रको रूपमा चित्रण गर्दै कृत्रिम कारणहरूले पछाडि परेको उल्लेख गरे। "अब पछाडि पर्ने समय बितिसकेको छ, हामी अब अगाडि बढ्नेछौं," ओलीले भने।
प्रधानमन्त्री ओलीले मधेसमा पछिल्लो समय भएका विकासका विभिन्न कामहरूको सूची प्रस्तुत गरेका छन् । जसमा आवास कार्यक्रम: १०,००० भन्दा बढी गरिब परिवारलाई घर उपलब्ध। जनकपुरमा रेल सञ्चालन, जसलाई बर्दिबाससम्म विस्तार गर्ने योजना। रेल सेवाका लागि जनशक्तिलाई तालिम दिने व्यवस्था र सडक चौडा तथा क्षेत्रीय सडक विकासको पहल रहेका छन् ।
प्रधानमन्त्री ओलीले मधेसको विकासले राष्ट्रकै समृद्धिमा योगदान गर्ने विश्वास व्यक्त गरे। "यस प्रदेशको इतिहासलाई सम्मान गर्दै आधुनिक पूर्वाधार निर्माणमा सबैलाई एक भएर काम गर्न आह्वान गर्दछु," उनले भने।
मधेसको विकास यात्रालाई गति दिने प्रधानमन्त्रीको यो उद्घोषले यहाँका जनताको आशा र अपेक्षालाई पुनः बलियो बनाएको छ।




















