काठमाडौ— प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आफूहरू कहिल्यै देश छाडेर नभाग्ने स्पष्ट पार्दै देशप्रतिको निष्ठा व्यक्त गरेकी छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिन अघि दिएको ‘हेलिकप्टरमा भाग्नका लागि तयारी रहनू’ भन्ने अभिव्यक्तिलाई प्रतिक्रिया दिँदै शाक्यले भनिन्, "हामीले देशका लागि आफ्नो सम्पूर्ण शक्ति खर्च गरिसकेका छौँ। भागेर जान न हामीसँग सम्पत्ति छ, न त त्यसको योजना। हामी एक थोपा रगत बाँकी रहुञ्जेल देशका लागि लड्छौं।"

आइतबार मध्यपुरथिमिमा आयोजित ‘जेसुम’ पुस्तक लोकार्पण कार्यक्रममा शाक्यले प्रजातन्त्र र लोकतन्त्रपछि देशमा शिक्षा, स्वास्थ्य, कृषि, र भौतिक पूर्वाधार क्षेत्रमा भएको प्रगतिका बारेमा चर्चा गरिन्।

"देशमा केही भएन भन्ने धारणा गलत हो। एकपटक देश घुम्नुस्, सरकारका प्रतिवेदन र विकासका पुस्तकहरू अध्ययन गर्नुस्। लोकतन्त्रपछि देशमा उल्लेखनीय परिवर्तन भएका छन्," उनले भनिन्।

शाक्यले आन्दोलन छाडेर सबैले आ–आफ्नो तहबाट देश र जनताका लागि योगदान गर्न आग्रह गरिन्।

"समय अझै छ। अब विवाद होइन, योगदानको आवश्यकता छ," उनले भनिन्।

समृद्ध मध्यपुर समाज नेपालले प्रकाशन गरेको ‘जेसुम’ पुस्तकको लोकार्पण मध्यपुरथिमिस्थित कराते एकेडेमीमा गरियो। कार्यक्रममा प्रधानमन्त्री ओलीका कवितादेखि अन्य श्रष्टाहरूका रचनाहरू प्रस्तुत गरिएका थिए।

कार्यक्रममा सहभागी मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख मदनसुन्दर श्रेष्ठले पनि आफ्ना कविता प्रस्तुत गरेका थिए।

यो कार्यक्रमले शाक्यद्वारा व्यक्त देशप्रतिको समर्पण र विकासको सन्देशलाई अझ बलियो बनाएको छ।