काठमाडौँ— झापाको एक कार्यक्रममा अतिथि बनेर पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भाषण गर्दा कार्यकर्ता रिसाएका छन् । प्रधानमन्त्रीसँग जोडेर नेताहरुले झापामा आएको बजेटको विरोधमा बोल्न थालेपछि कार्यकर्ता बिचैमा उठेर हिँडेका हुन् ।
झापाको शनिश्वरे बजारमा रास्वपा अर्जुनधारा नगर कमिटीको अधिवेशनमा अतिथि बनेर पुगेका थिए, उक्त पार्टीका नेत्री तथा सांसद सोभिता गौतम, निशा डाँगी र उनीहरुसँगै केन्द्रीय सदस्य ज्वाला संग्रौला ।
कार्यक्रम बोल्ने पालो आएपछिसंग्रौलाले सरकारले ल्याएको बजेटको चर्को विरोध गर्दै प्रधानमन्त्री ओलीमाथि कटाक्ष गरिन् । झापामा अन्तराष्ट्रियस्तरको आधुनिक रंगशाला बनाउने घोषणालाई उनले ‘बालुवामा पानी हाल्न लागिएको’ भनिन् । यसअघि दमकको खेतमा भ्यूटावर बनाउँदा राज्यको अर्बौ रकम दुरुपयोग भएको र फेरि रंगशालाको नाममा राज्यको सम्पति दुरुपयोग गर्न लागिएको उनको आरोप थियो ।
संग्रौलाको भाषण सुनिरहेका रास्वपाका एकथरी कार्यकर्तालाई उक्त कुरा मन परेन । 'झापामा बजेट आउनु राम्रो हो नि, यस्तो कुराको विरोध नगरौँ’ भन्दै उनीहरुले ठाउँको ठाउँ असन्तुष्टि जनाए । त्यसको केही समयपछि सांसद डाँगीले पनि संग्रौलाकै शैलीमा प्रधानमन्त्री ओलीको विरोध गरिन् । तर, त्यहाँ बसेका कार्यकर्ताले समर्थनमा तालि बजाएनन् ।
झापामा परियोजना पर्नु र बजेट विनियोजन गरिनु राम्रो पक्ष हो भन्दै नेताहरुले विरोध गर्दा कार्यकर्ता रुष्टिएका हुन् । त्यसक्रममा धेरै जना कार्यक्रम छोडेर बिचैमा हिँडेका थिए । सांसद गौतम बोल्ने पालो आउँदासम्म कार्यक्रममा उपस्थित ७० प्रतिशत कार्यकर्ता उठेर हिँडेको एक प्रत्यक्षदर्शीले बताए ।
उनका अनुसार सांसद गौतमले भाषण गर्न थाल्दा २० जनाजति सहभागीमात्रै बाँकी थिए । ‘अन्तिममा कार्यकर्ताभन्दा पनि अतिथि धेरै देखिए’, ती प्रत्यक्षदर्शी भन्छन्, ‘माननीयज्यूहरुले यहाँ (झापा) आएको बजेटको विरोध नगरेको भए हुन्थ्यो, आफ्नो जिल्लामा बजेट परेपछि स्थानीय सन्तुष्ट नै छन् ।’
अर्को रोचक के भने, कार्यक्रममा सहभागी अधिकांश ज्येष्ठ नागरिक थिए । ती ज्येष्ठ नागरिकहरु समेत कार्यक्रमस्थलबाट उठेर हिँडेका हुन् । ‘उमेर ढल्किसकेका मानिस धेरै थिए, तर अतिथिहिरु फेरि सबै भर्खरका हुनुहुन्थ्याे, त्यै भएर पनि कार्यक्रमको दृश्य त्यति शोभनीय देखिएको थिएन’, उनले सुनाए ।




















