काठमाडौं— अमेरिकाले नेपाली नागरिकका लागि प्रदान गर्दै आएको अस्थायी सुरक्षा सुविधा (टीपीएस) अब अन्त्य हुने भएको छ। अमेरिकी गृह सुरक्षा मन्त्रालय अन्तर्गतको नागरिकता तथा आप्रवासन सेवाले यसबारे निर्णय सार्वजनिक गरेको छ।

विज्ञप्तिअनुसार, नेपालका लागि टीपीएस सुविधा सन् २०२५ जुन २४ मा समाप्त हुनेछ। यो मितिपछि ६० दिनभित्र निर्णय कार्यान्वयनमा आउनेछ, जसले गर्दा नेपालका टीपीएसधारीहरूले यो सुविधा गुमाउने छन्।

सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि अमेरिकाले नेपालीहरूलाई टीपीएसको मान्यता दिएको थियो। तर, हाल अमेरिकी सरकारले नेपाल अब टीपीएसका लागि आवश्यक मापदण्ड पूरा नगरेको ठहर गरेको छ।

गृह सुरक्षा मन्त्रालयका अनुसार, नेपालमा अब यस्तो अवस्था छैन जसले टीपीएस निरन्तरताको आवश्यकता औंल्याओस्। यो निर्णय अमेरिकी सरकारका सम्बन्धित निकायसँगको छलफलपछि गरिएको हो।

प्रवासी अधिकारकर्मीहरूले अमेरिकी निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल अझै संवेदनशील चरणमा रहेको र टीपीएस आवश्यक रहेको तर्क गरेका छन्।

यो निर्णय अमेरिकी संघीय रजिस्टरमा २०२५ जुन ६ मा प्रकाशित हुनेछ।

सन् २०१५ को भूकम्पपछि हजारौं नेपालीहरू यस सुविधाबाट लाभान्वित भएका थिए। तर, यो निर्णयपछि प्रभावित व्यक्तिहरूले अन्य आप्रवासन विकल्प खोज्नुपर्ने आवश्यकता पर्नेछ। एजेन्सी