काठमाडौं—काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार भ्रष्टाचारमा मुछिएका छन् । ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा उनीसहित सात जनाविरुद्ध उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
नेपाल सरकारको सहसचिव परियार अहिले सूचना तथा प्रसारण विभागको महानिर्देशकको जिम्मेवारीमा छन् । मुद्दा दर्ता भएसँगै उनको पद निलम्बनमा परेको छ ।
मुद्दा चलाइनेमा महानगरका निर्देशकहरु रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इञ्जिनियर जर्नादन गिरी छन् । सामाखुशी कोरिडोरअन्तर्गत वसुन्धरादेखि म्हेपीसममको ढल निर्माण कार्यको ठेक्कामा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत परियारसहितको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।
अख्तियारका अनुसार सबैभन्दा कम अंक १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ कबोल गर्ने निर्णय व्यवसायी समानन्तर सेवा प्रालिलाई अयोग्य ठहर गरी कल्पवृक्ष–कोहिनुर जेभीलाई २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँमा ठेक्का दिइएको भेटिएको छ ।
अख्तियारले दायर गरेको अभियोग पत्रमा पदको दुरुपयोग गरेर महानगर तथा सार्वजनिक संस्थाको सम्पत्तिमा बदनियतपूर्वक हानि नोक्सानी पुर्याएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम चार करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवाना मागदाबी गरिएको छ ।
अख्तियारले परियारविरुद्ध मुद्दा दर्ता गर्न लागेको संकेतसहित जनआस्थाले हिजो समाचार लेखेको थियो ।




















