काठमाडौं—चैते धानको उत्पादन वृद्धि भएपछि बिक्रीमा समस्या आएको छ । 

धानको मागमा आएको कमीले बजारमा यसको मूल्यमा पनि गिरावट आएको हो । त्यसले गर्दा किसानले लगानी उठाउन नसकेको गुनासो गरेका छन् ।

अघिल्लो वर्ष करिब दुई लाख मेट्रिकटन धान उत्पादन हुँदा बजारको माग अनुसार आपूर्ति हुनसकेको थिएन । चालु आर्थिक वर्षमा करिब चार लाख मेट्रिकटन धान उत्पादन भएको अनुमान गरिएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गतवर्ष धानको बिक्री गरी किसानले राम्रो आम्दानी गरेकाले यस वर्ष दोब्बर उत्पादन गरेकाले भण्डारण तथा बिक्रीवितरणमा समस्या आएको हो । 

तराई तथा भित्री मधेसका करिब ३५ जिल्लामा धानबाली पाकेर भित्र्याउने तयारी गरिएको बताइएको छ ।