पोखरा — पोखराको छोरेपाटन माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीमाथि कालोमोसो दलिएको घटनामा मुख्य योजनाकारको भूमिका खेलेको आरोपमा नेकपा बहुमतका नेता सुजन बिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार, नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)**का नामबाट कालोमोसो दलिएको हो। त्यसको नेतृत्व र योजना सुजन बिकले नै गरेका थिए। उनलाई अभद्र व्यवहार अभियोगमा पक्राउ गरेर मुद्दा दर्ता गरिएको छ।
बिक नेकपा बहुमतका पोलिटब्युरो सदस्य तथा युवा संगठनका केन्द्रीय अध्यक्ष पनि हुन्। प्रहरीका अनुसार, कालोमोसो दल्ने थप दुई जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ।
एसपी ओलियाले भने, “सुजन बिककै योजना तथा निर्देशनमा विद्यालय अध्यक्षमाथि कालोमोसो दलिएको देखिएको छ।”
प्रहरीले बिकको अघिल्ला मुद्दाहरू र राजनीतिक पृष्ठभूमिसमेत खोतलिरहेको जनाएको छ। उनी पूर्व माओवादी केन्द्र, त्यसपछि वैद्य समूह (मोहन वैद्य), त्यसपछि विप्लव समूह (नेत्रविक्रम चन्द) हुँदै अहिले त्यसै समूहबाट विभाजित नेकपा बहुमतमा आबद्ध रहेका छन्।
पाताले छाँगोको विवादबाट सुरु भएको झगडा
गत शुक्रबार पोखराको छोरेपाटन बजारमा अध्यक्ष पहारीलाई कालोमोसो दलिएको थियो। पाताले छाँगो (डेभिस फल्स) नामक पर्यटकीय क्षेत्रलाई निजी कम्पनीलाई हस्तान्तरण गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सहयोग पुर्याएको भन्दै विरोधस्वरूप उक्त घटना भएको हो।
२०३५ सालदेखि छाँगोको भोगचलन तथा व्यवस्थापन छोरेपाटन माविले गर्दै आएको थियो। त्यहाँ उठ्ने राजस्व विद्यालयका विभिन्न कार्यक्रम सञ्चालनमा खर्च हुँदै आएको थियो। तर पछिल्ला वर्षहरूमा महालेखा परीक्षकको कार्यालयले त्यसलाई महानगरको स्वामित्वमा ल्याउन निर्देशन दिँदै आएको थियो।
पोखरा महानगरपालिकाले छाँगो क्षेत्रमा सिसाको पुल निर्माण गरी ४० वर्षका लागि निजी कम्पनीलाई व्यवस्थापन जिम्मा दिने तयारी गरेको थियो। विद्यालय व्यवस्थापन समितिसँग वार्षिक ३ करोड रुपैयाँ दिने सहमति भएको थियो।
यसै कारण अध्यक्ष पहारीमाथि विद्यालय सम्पत्ति निजीकरण गर्न मिलेमतो गरेको आरोप लाग्दै आएको छ। यद्यपि हाल उक्त स्थानको व्यवस्थापन पोखरा महानगरपालिका आफैंले गरिरहेको इन्जिनियर नेत्रप्रसाद तिमिल्सिनाले जानकारी दिए।




















