काठमाडौं —नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत  रेग्मी रास्वपा प्रवेश गरेको प्रवक्ता मनीषा झाले जानकारी दिए ।

स्याङ्जा निवासी रेग्मी पर्यटन बोर्डको कार्यकालभरि विभिन्न विवादमा मुछिँदै आएका थिए। सन् २०७८ मा बेलायतबाट नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूसँग ल्याएको रक्सीको विषयलाई लिएर भन्सार कर्मचारीसँग उनको झगडा भएको थियो। त्यसबेला उनले आफ्नो पदीय हैसियतको दुरुपयोग गरेको भन्दै बोर्डको सञ्चालक समितिले उनलाई निलम्बन गरेको थियो।

छानबिन समितिका संयोजक चन्द्रप्रसाद रिजाललाई रेग्मीले ‘मार्ने र काट्ने’ धम्की दिएको आरोपसमेत लागेको थियो। त्यस्तै, २०८० सालमा उनले पर्यटन बोर्डको ६० लाख रुपैयाँ प्रयोग गरी आफ्नै निजी कम्पनीमार्फत भूगोलसम्बन्धी कार्यक्रम सञ्चालन गरेको विषयमा पनि प्रश्न उठेको थियो।

आर्थिक पारदर्शिता र पदको दुरुपयोगसम्बन्धी गुनासोपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही योजनासम्बन्धी कागजात समेत माग गरेको थियो।

विभिन्न व्यवसायमा समेत संलग्न रहेका रेग्मीको रास्वपामा प्रवेशसँगै पार्टीमा बहसको विषय थपिएको छ। पार्टीले भने नयाँ अनुहारको आगमनलाई सकारात्मक रूपमा लिएको जनाएको छ।